आज्ञा खबर
सिरहा
धनगढीमाई नगरपालिका–११ आमचोकमा ८० वर्षीय फनिलाल यादवको शंकास्पद ढंगले हत्या गरिएको छ। आफ्नै घरमा सुतिरहेकै बेला धारिलो हतियारले टाउकोमा प्रहार गरी हत्या गरिएको प्रहरी र परिवार स्रोतले जनाएको छ।
मंगलबार रातिको समयमा अज्ञात समूहको आक्रमणमा परेका यादव बिहान अबेरसम्म नउठेपछि खोजतलासका क्रममा गम्भीर अवस्थामा फेला परेका थिए। “बुबा बिहानसम्म नउठेपछि खोज्न जाँदा ओछ्यानमै रगताम्य अवस्थामा भेट्यौँ,” मृतकका छोरा कपिलदेव यादवले बताए।
गम्भीर घाइते अवस्थाका यादवलाई तत्काल लहानस्थित प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन्। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
घटनापछि प्रहरीको उपस्थिति ढिला भएको भन्दै आक्रोशित स्थानीयबासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै टायर जलाएर विरोध प्रदर्शन गरेका थिए। करिब एक घण्टा यातायात ठप्प भएको थियो।
प्रहरी नायब उपरीक्षक पासवानका अनुसार प्रारम्भिक अनुसन्धानबाट पारिवारिक विवाद वा विगतको कुनै झगडाको पृष्ठभूमिमा घटना घटेको हुन सक्ने अनुमान गरिएको छ। “हत्या घटनासम्बन्धी अनुसन्धान तीव्र पारिएको छ,” डीएसपी पासवानले भने, “दोषी पत्ता लगाउनेबित्तिकै कानुनी कारबाही अघि बढाइनेछ।”
स्थानीयवासीले सुरक्षाको ग्यारेन्टी गर्न र दोषीलाई छिटो पक्राउ गर्न माग गरेका छन्। घटनाले क्षेत्रको शान्ति–सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।





































