आज्ञा खबर
सर्लाही
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आगामी शनिबार सर्लाहीको लालबन्दी नगरपालिका–१५ स्थित बोहोरे डाँडा पुग्ने भएका छन्।
नेपालको सर्लाही आगमन मधेश प्रदेशस्तरीय ‘पुष्पलाल स्मृति भवन’को उद्घाटन समारोहका लागि हो। पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाका अनुसार उक्त भवन एक व्यवस्थित सभाहलसहितको संरचना हो, जुन आगामी दिनमा बहुउपयोगी राजनीतिक तथा सामाजिक कार्यक्रमहरूको केन्द्र बन्ने अपेक्षा गरिएको छ।
समारोहमा अध्यक्ष नेपाल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको छ। उनको उपस्थितिलाई ध्यानमा राख्दै उद्घाटन कार्यक्रमको तयारी तीव्ररूपमा अगाडि बढाइएको जनाइएको छ।
केही वर्षअघि यही बोहोरे डाँडामै नेपालकै प्रमुख आतिथ्यमा कम्युनिस्ट आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठको शालिक अनावरण गरिएको थियो। त्यसै स्थानमा अब स्मृति भवनको निर्माण सम्पन्न भएसँगै उद्घाटन हुन लागेको हो।
नेकपा एकीकृत समाजवादीले यस भवनलाई पार्टीको विचार, स्मृति र गतिविधिको थलोका रूपमा उपयोग गर्ने योजनासमेत अघि सारेको छ।





































