आज्ञा खबर,
बर्दिबास, महोत्तरी ।
“एक लाख रुपियाँ? त्यो त सपना जस्तै लाग्थ्यो,” भन्दै थिए श्रीकुमार सदा। मुसहर समुदायमा जन्मिएका सदा जस्तैका लागि यो भनाइ केवल भावुकता मात्र होइन—यथार्थ थियो। तर अब त्यो सपना झझल्को होइन, चेकको रूपमा हातमै आइपुगेको छ।
बर्दिबास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका श्रीकुमार सदाले गत असार ७ गते पत्नी सबिना कुमारी सदा गुमाए। पेटको समस्याले ३६ वर्षीया सबिनाको ज्यान लियो। आर्थिक रूपमा कमजोर मुसहर परिवारका लागि त्यो क्षति केवल मानवीय थिएन—आर्थिक चोट पनि थियो। तर त्यसपछि नगरपालिकाबाट आएको एक लाखको बीमा चेकले श्रीकुमारको आँखामा आँसु ल्यायो—शोकको मात्र होइन, राहत र भरोसाको पनि।
बर्दिबास नगरपालिकाले अगुवाइ गरेको नेपालकै पहिलो मुसहर लक्षित सामूहिक जीवन बीमा योजनाले यति छोटो समयमा यति गहिरो प्रभाव पार्ला भन्ने सायदै कसैले सोचेको थियो। ‘लिवर्टी लाइफ इन्स्योरेन्स’को साझेदारीमा सञ्चालित यो योजनाअन्तर्गत बीमा दाबी प्रक्रिया एक महिनाभित्रै सम्पन्न भई श्रीकुमारलाई भुक्तानी दिइयो।
नगरप्रमुख प्रह्लादकुमार क्षेत्री र प्रवक्ता विजयकुमार महतोको हातबाट बीमा रकमको चेक ग्रहण गर्दा श्रीकुमार बोल्न सकेनन्। तर बस्तीकी वृद्धा मानकी सदा भन्छिन्, “पहिल्यै यस्ता कुरा हामीले कहाँ देखेका थियौं र? अबका पुस्ताले बुझ्न थाल्नेछन्।”
मुसहरका लागि पहिलोपटक व्यवहारमा लागू बीमा
सामाजिक सूचकांकमा निकै तल देखिने मुसहर समुदायको लागि बर्दिबास नगरपालिकाले २०८० साल चैतदेखि सुरु गरेको यो बीमा योजना ऐतिहासिक मानिएको छ। १८ देखि ५९ वर्षसम्मका सबै मुसहर नागरिकको तीन वर्षे बीमा प्रिमियम नगरपालिकाले आफैंले तिरेर गरिएको हो।
मधेश प्रदेशका लागि ‘लिवर्टी लाइफ इन्स्योरेन्स’का प्रबन्धक रविन्द्रकुमार मिश्रका अनुसार, “बीमा दाबीलाई जति सक्दो छिटो प्रक्रियामा लैजाने हाम्रो उद्देश्य थियो। मुसहर समुदायले बीमालाई केवल कागज होइन, व्यवहारिक सहयोगको रूपमा अनुभव गरुन् भन्ने चाहना थियो।”
मात्र बीमा होइन, सामाजिक सुधारतर्फ पनि पहल
नगरप्रमुख क्षेत्रीले बीमासँगै अर्को सामाजिक रुपान्तरण अभियान पनि सार्वजनिक गरेका छन्। २० वर्ष पार गरेर विवाह गर्ने मुसहर जोडीलाई ५० हजार रुपैयाँ प्रोत्साहनस्वरूप उपलब्ध गराइनेछ। वडाध्यक्ष विजयकुमार महतोका अनुसार, यो योजना २०८० चैत ५ गतेदेखि कार्यान्वयनमा ल्याइएको हो।
“बिहेको उमेर र जिम्मेवारीप्रति चेतना दिन पनि यो योजना ल्याइएको हो,” महतोले भने।
चेतनाको उज्यालो बिस्तारिदै
भङ्गाहा–३ का सिमल सदा भन्छन्, “हाम्रो पछाडि पर्नुको मुख्य कारण अशिक्षा हो। अब यी योजनाले चेतना ल्याउनेछन्।” उनी थप्छन्, “हामीलाई अब शिक्षामा जोड दिन आवश्यक छ। स्थानीय तहको साथ र सक्रियता अत्यावश्यक छ।”
राष्ट्रिय जनगणना २०७८ अनुसार महोत्तरी जिल्लामा २७ हजार ३५२ मुसहर बसोबास गर्छन्। १५ वटै स्थानीय तहमा फैलिएको यो समुदायमा माध्यमिक तहसम्म अध्ययन पूरा गर्नेको संख्या औंलामा गन्न सकिने मात्र छ।
सानो चेक, ठूलो असर
श्रीकुमार सदा अझै पनि गहिरो शोकमा छन्, तर उनी अब आफैं मात्र शोकमा छैनन्—सिङ्गो समुदायको लागि उनी आशाको प्रतिक बनेका छन्। बीमा योजनाबाट पहिलोपटक लाभ पाएका व्यक्तिका रूपमा उनी अब मुसहर समुदायमा बीमाको सम्भावना र उपयोगिता दुवैलाई जीवित उदाहरणका रूपमा देखाइरहेका छन्।
समाजका अति पिछडिएका वर्गहरूलाई आत्मसम्मानका साथ अगाडि ल्याउन बर्दिबास नगरपालिकाको यो कदमले नीति निर्माणकर्तालाई पनि सोच्न बाध्य बनाएको छ—वास्तवमै समावेशी र प्रभावकारी योजनाहरू यस्तो नै हुनुपर्छ।
