आज्ञा खबर
जनकपुरधाम
जनकपुरधाममा आन्दोलन र ज्ञापनपत्र बुझाउने परम्परा नौलो होइन, तर यसपटक प्रदर्शनको शैलीले सबैको ध्यान खिच्यो। चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले मंगलबार फरक तरिकाले आफ्ना मागहरू अघि सारे — आँखामा कालोपट्टी बाँधेर नगर परिक्रमा गर्दै प्रदेश सरकारलाई ७ बुँदे ज्ञापनपत्र बुझाए।
सुनिल यादवले जनक चोक, भानु चोक, मिल्स एरिया हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म कालोपट्टी बाँधेर पदयात्रा गरे। उनको यो प्रतिकात्मक प्रदर्शन प्रदेश सरकारको निष्क्रियता र दृष्टिविहीन निर्णयप्रति विरोध थियो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर यादवले उपसचिव वासुदेव मल्ललाई ज्ञापनपत्र बुझाए। ज्ञापनपत्रमा हाल संसद्मा पेश भएको भूमि व्यवस्था ऐन तत्काल फिर्ता लिन माग गरिएको छ। अभियानका अनुसार उक्त ऐनले भू–माफियाको पहुँच वन क्षेत्रमा विस्तार हुने खतरा निम्त्याएको छ।
साथै, यादवले प्रदेशलाई जल संकटग्रस्त क्षेत्र घोषणा गरिए पनि किसानहरू राहतविहीन रहेको भन्दै तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे। ज्ञापनपत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन खानेपानी योजनाहरू सुनिश्चित गरेर तत्काल कार्यान्वयनमा लैजानुपर्ने उल्लेख गरिएको छ।
यादवले भने, “प्राकृतिक स्रोत र वनजंगलको विनाशसँगै हामी हाम्रो भविष्य गुमाउँदैछौं। यो आँखामा पट्टी बाँधिएको प्रदर्शनले सरकारको आँखा खोलोस् भन्ने हाम्रो आशा हो।”
चुरे क्षेत्रको संरक्षण र जल–संकटको समाधानका लागि यादव नेतृत्वको अभियानले यसअघि पनि विभिन्न दबाबमूलक कार्यक्रमहरू सञ्चालन गरिसकेको छ। तर यसपटकको शैलीले आन्दोलनलाई प्रतीकात्मक र चेतनामूलक बनाएको स्थानीयले बताएका छन्।
