जनकपुरमा खुकुरी प्रहार: एक बालिकाको मृत्यु, आमा र भतिजी गम्भीर घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर,

जनकपुरधाम 

जनकपुरधाम उपमहानगरपालिका–४ मा सोमबार राति भएको एक नृशंस खुकुरी आक्रमणमा एक किशोरीको ज्यान गएको छ भने दुई महिला गम्भीर घाइते भएका छन्।

कटैयाचौरी नजिकको एक घरमा डेरा गरी बस्दै आएकी १४ वर्षीया अञ्चली यादवको घटनास्थलमै ज्यान गएको हो। उनी धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरकी स्थायी बासिन्दा थिइन्। आमासँगै जनकपुरमा डेरा बसेर अध्ययनरत अञ्चलीमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको जनाइएको छ।

घटनामा अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी १५ वर्षीया राधा यादव गम्भीर घाइते छन्। उनीहरू दुवैलाई तत्काल प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ।

धनुषा प्रहरीका अनुसार आक्रमण क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले गरेका हुन्। उनले डेरा घरको एकतले पक्की भवनमा बस्दै आएका आशा र उनका परिवारमाथि खुकुरी प्रहार गरेको बताइएको छ।

प्रहरी अनुसन्धान अनुसार, साह यसअघि आफ्नै श्रीमतीको हत्या अभियोगमा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। उनले अञ्चलीलाई टाउको र शरीरका विभिन्न भागमा, राधालाई दाहिने घुँडा र हातमा गहिरो चोट पुर्‍याएका छन् भने आशा यादवको टाउको र शरीरमा गम्भीर घाउ छन्।

सुरक्षा अधिकारीहरूले घटना पूर्व नियोजित वा मानसिक असन्तुलनको असर थियो वा होइन भन्ने विषयमा अनुसन्धान अघि बढाइएको बताएका छन्। मधेस प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले घटनाको गम्भीरता उच्च रहेको भन्दै दोषीलाई खोजी तीव्र पारिएको जानकारी दिइन्।


  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...