लामो समयदेखि थन्किएका सवारीसाधन कबाडमा परिणत — भन्सार प्रशासनको ढिलासुस्तीले राज्यलाई करोडौंको घाटा

[sharethis-inline-buttons]

आज्ञा खबर
 सर्लाही ।

सर्लाहीको मलङ्गवास्थित भन्सार कार्यालय परिसरमा वर्षौंदेखि थन्किएका बरामद सवारीसाधनहरू खुला आकाशमुनि नष्ट हुने अवस्थामा पुगेका छन्। सुरक्षासंस्थाले विभिन्न समयमा नियन्त्रणमा लिएका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनहरू समयमै लिलामी प्रक्रिया अगाडि नबढाइँदा प्रयोग अयोग्य अवस्थामा पुगेका हुन्।

भन्सार परिसरभित्र रोकिन पुगेका यस्ता सवारीसाधनहरूमा खिया लागेर जिर्ण भइसकेका छन् भने धेरै गाडी झाडीले छोपिएका छन्। यिनको हालत हेर्दा राज्यले असुल गर्न सक्ने करोडौं मूल्यको राजस्व खेर गइरहेको स्पष्ट देखिन्छ।

स्थानीयवासी श्यामकुमार साह भन्छन्, “सुरुमा बरामद गर्दा ठिकठाक अवस्थामा रहेका गाडीहरू भन्सारको बेवास्ताले अहिले कबाडमा परिणत भएका छन्। लिलामी प्रक्रिया समयमै अगाडि बढाइएको भए राज्यलाई ठूलो आम्दानी हुन्थ्यो, तर अहिले उल्टै घाटा मात्र भइरहेको छ।”

चोरी, नक्कली नम्बर प्लेट, अवैध सामान ढुवानी वा पैठारीमा प्रयोग गरिएका सवारीसाधनलाई सुरक्षासंस्थाले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने प्रचलन छ। तीमध्ये धेरैजसो सवारी भारतबाट भित्रिएको भन्सार प्रशासनको भनाइ छ।

सर्लाही भन्सार कार्यालयका प्रमुख ठाकुर आचार्यका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा तीन पटक लिलामी प्रक्रिया सुरु गरिएको थियो। तर, कुनै न कुनै कारणले प्रक्रिया सफल हुन सकेन। “अब त ती सवारीसाधनलाई जोगाउनकै लागि सुरक्षित संरचना (सेड) निर्माण गर्नुपर्ने अवस्था आएको छ। त्यसका लागि यस वर्ष बजेट माग गरिएको छ,” प्रमुख भन्सार अधिकृत आचार्यले जानकारी दिनुभयो।

तर स्थानीयको गुनासो फरक छ। उनीहरू भन्छन्—सवारीसाधन लिलामीका लागि न त पर्याप्त चासो देखिन्छ, न त पारदर्शी र प्रभावकारी प्रक्रिया। यस्तो स्थिति कायम रहँदा राज्यको सम्पत्ति नोक्सानमा परिरहेको छ भने भन्सार प्रशासन त्यसप्रति गम्भीर नदेखिएको उनीहरूको आरोप छ।

भन्सार परिसरमा थन्किएका सवारीसाधनहरूमध्ये केही अदालतको अन्तिम निर्णय नआउँदासम्म रोकिएको भए पनि धेरैजसो गाडी कानुनी प्रक्रिया टुंगिसकेको अवस्थामा छन्। तर ती गाडी पनि लिलामी प्रक्रियाको पर्खाइमा छन्।

विश्लेषकहरू भन्छन्—यदि प्रशासनले समयमै पहल गऱ्यो भने यस्तो अवस्थाबाट राजस्व प्रणालीले राहत पाउन सक्छ। तर अहिले देखिएको निष्क्रियता र समन्वयहीनताले राज्यको सम्पत्ति नै नष्ट हुन थालेको छ।


  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...