आज्ञा खबर
सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगन्जस्थित चौतारामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
मृतकको परिचय मोरङको सुन्दरहरैचा नगरपालिका–७, गच्छिया टोल निवासी ६५ वर्षीय धनबहादुर कार्कीको रूपमा खुलेको छ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंहका अनुसार स्थानीयले चौतारामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले घटनास्थल पुगेर प्रारम्भिक विवरण संकलन गरिसकेको छ।
शवलाई पोष्टमार्टमका लागि सर्लाहीस्थित प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। कार्कीको मृत्युको कारण हालसम्म स्पष्ट भइसकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।





































