आज्ञा खबर
वीरगन्ज
मधेस प्रदेश सरकारले आम नागरिकको जीवन सुरक्षालाई ध्यानमा राख्दै बीमा, क्षतिपूर्ति तथा जेष्ठ नागरिकका लागि संरचनात्मक सुविधाको पहल अघि बढाएको छ। खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले बीमा कार्यक्रममार्फत दुर्घटना तथा दैवी प्रकोपमा ज्यान गुमाउने नागरिकका परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने नीति कार्यान्वयनमा रहेको जानकारी दिएका छन्।
शनिबार वीरगन्जमा आयोजित जेष्ठ नागरिक महासंघ मधेस प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै मन्त्री जयसवालले प्रदेशभित्र मात्र होइन, नेपाल वा भारतको जुनसुकै ठाउँमा मधेसका बासिन्दाको दुर्घटनामा मृत्यु भएमा बीमाबाट राहत पाउने स्पष्ट पारे। “यो व्यवस्था प्रदेश सरकारको सक्रिय पहलमा सुनिश्चित गरिएको हो,” उनले भने।
त्यस्तै, दैवी प्रकोपबाट घरमा क्षति पुगेका नागरिकलाई मूल्याङ्कनको आधारमा ५० हजारदेखि ५ लाख २० हजार रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध हुनेगरी बीमा कम्पनीसँग समन्वय गरिएको मन्त्री जयसवालले जनाए।
वृद्धाश्रमका लागि बजेट, अनुभवलाई पुस्तकमा उतार्ने योजना
समाज कल्याण मन्त्रालयमार्फत जेष्ठ नागरिकप्रति समर्पित कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउने सरकारको तयारी रहेको मन्त्री जयसवालले बताए। चालु आर्थिक वर्षको बजेटमा वृद्धाश्रम भवन निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको उनले बताए। “जेष्ठ नागरिक राष्ट्रको गहना मात्र होइनन्, अनुभवका खानी पनि हुन्। त्यसैले आवश्यक परे बजेट थपिनेछ,” मन्त्रीले उल्लेख गरे।
त्यसैगरी, समाज कल्याण मन्त्रालयले जेष्ठ नागरिक महासंघसँग सहकार्य गर्दै अनुभव सङ्ग्रह गर्ने पुस्तक प्रकाशनको तयारी गरिरहेको जानकारी पनि उनले दिए।
अधिवेशनमा नेतृत्वदायी सहभागिता, सुझाव र शुभकामना
जेष्ठ नागरिक महासंघ मधेस प्रदेशका संयोजक जगदीश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, रेडक्रस पर्साका अध्यक्ष बृकिशोर पटेल, तथा समाजसेवी नेजामुदिन समानी लगायतले शुभकामना मन्तव्य राख्दै जेष्ठ नागरिकको अनुभवलाई राष्ट्रनिर्माणमा उपयोग गर्न तीनै तहका सरकारलाई आग्रह गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा, नेपाल प्रेस युनियन पर्सा, तथा स्थानीय संचारकर्मी र समाजसेवीहरूको उपस्थिति उल्लेखनीय थियो। सहभागी सबैले अधिवेशनको सफलता र जेष्ठ नागरिकप्रति सरकारको चासोलाई सराहना गर्दै निरन्तर सहकार्यको प्रतिबद्धता जनाएका थिए।
