आज्ञा खबर
सर्लाही
सर्लाहीमा सवारी दुर्घटनाबाट हुने मृत्युदरमा उल्लेखनीय गिरावट आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले घटेको छ।
२०८०/८१ मा ७३ जनाको ज्यान जाने दुर्घटना भएकोमा, २०८१/८२ मा मृतकको संख्या ५६ मा झरेको ट्राफिक प्रहरीको रिपोर्टले देखाएको छ। मृत्यु संख्याको कमी भए तापनि घाइतेको संख्या भने अझै पनि चिन्ताजनक नै छ। पछिल्लो आर्थिक वर्षमा एक हजार ३७ वटा दुर्घटनामा ५०१ जना गम्भीर र एक हजार १८० जना सामान्य घाइते भएका छन्। त्यसको अघिल्लो वर्षमा ६१४ जना गम्भीर र ५०४ जना सामान्य घाइते भएका थिए।
जिल्ला ट्राफिक प्रहरी प्रमुख रजोश घिमिरेका अनुसार सवारी दुर्घटना न्यूनिकरणका लागि कार्यालयले विभिन्न संयन्त्रलाई सक्रिय रुपमा कार्यान्वयनमा ल्याएको छ। तीमध्ये नियमित चेकजाँच, क्षमताभन्दा बढी भार बोकेका सवारी साधनमाथि कारवाही, र यान्त्रिक परीक्षणसहित सचेतनामूलक कार्यक्रमहरू प्रमुख छन्।
“कानुनी कार्यान्वयन मात्र नभई जनचेतनामा समेत हामी उत्तिकै ध्यान दिइरहेका छौं,” घिमिरेले भने। तर उनले हाल सडक विस्तार र कालोपत्रे सडक निर्माणसँगै सवारी साधनको तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको नयाँ चुनौती निम्त्याएको बताएका छन्।
गत आर्थिक वर्षमा मात्र ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ३४ सवारी साधनलाई कारवाही गरिएको र त्यसबाट दुई करोड दुई लाख १८ हजार ५२० रुपैयाँ राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यसले ट्राफिक प्रहरीको निगरानी प्रणाली सुदृढ बन्दै गएको सङ्केत दिए तापनि, स्थानीय तहमा नागरिक सचेतना अभिवृद्धि, दिगो सडक संरचना र प्रविधिसँगै ट्राफिक व्यवस्थापनमा थप सुधारको आवश्यकता देखिन्छ।





































