आज्ञा खबर
बर्दिवास
नेपाली स्वास्थ्य प्रणालीको मौलिक मेरुदण्डका रूपमा चिनिँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गर्ने क्रम बिस्तारै संस्थागत बन्दै गएको छ। यस्तै एउटा अनुकरणीय उदाहरण बर्दिवास नगरपालिकामा देखिएको छ, जहाँ २०४५ सालदेखि निरन्तर सेवा गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई शुक्रबार एक बिशेश कार्यक्रममा दीर्घसेवा सम्मान प्रदान गरियो।
कार्यक्रमको विशेषता के थियो भने, नेपाल सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सेवा निवृत्तिपछि दिने रु २० हजार सम्मान रकममा बर्दिवास नगरपालिकाले थप रु ८० हजारको योगदान गर्दै कुल रु १ लाख बराबरको सम्मान रकम उनीहरूको बैंक खातामा हस्तान्तरण ग¥यो। यो कदम बर्दिवास नगरपालिका–दोस्रो कार्यकालका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीको अग्रसरता र दृढ इच्छाशक्तिका कारण सम्भव भएको हो।

नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नगर प्रमुख क्षेत्रीले भने, “स्वयंसेविकाहरूको त्याग, समर्पण र निःस्वार्थ सेवाले आज बर्दिवासको सार्वजनिक स्वास्थ्यमा गुणात्मक सुधार आएको छ। हाम्रो जिम्मेवारी हो — यस्ता सच्चा सेविकाहरूको योगदानलाई संस्थागत र सम्मान गर्नु हाम्रो दायित्व हो। “हामी आगामी वर्षदेखि नवनियुक्त स्वयंसेविकाहरूको तालिम, नियमित भत्ता र बीमा कार्यक्रम पनि अगाडि बढाउने योजना बनाउँदैछौं।”
२०४५ सालतिर जब नेपालले सामुदायिक स्वास्थ्य सुधारको नाममा महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम प्रारम्भ ग¥यो, त्यसबेला धेरैले यो काम सामाजिक सेवा भनेर मात्रै स्वीकारे। बर्दिवासका अधिकांश स्वयंसेविकाहरूले आफ्नो घरको जिम्मेवारीसँगै अन्य महिलाहरूलाई सुत्केरी गराउन, खोप लगाउन, गर्भवती महिलाहरूको निगरानी राख्न, स्वास्थ्य शिक्षा दिन र पोषणका कार्यक्रम सञ्चालन गर्न मुख्य भूमिका खेले। उनीहरूले कहिल्यै नियमित पारिश्रमिक मागेनन्। राज्यले उनीहरूको सम्मान स्वरुप कहिले काहीँ ताली बजायो, कहिले प्रमाणपत्र बाँड्यो — तर यथोचित आर्थिक सम्मान भने अझैसम्म सन्तोषजनक दिएन।
नेपाल सरकारले प्रदान गर्दै आएको २० हजार रुपैयाँ सम्मान रकम थोरै लाग्ने अवस्था भएको महसुस गर्दै नगर प्रमुख क्षेत्रीले यो सम्मान रकमलाई पाँचगुणा बराबरमा पु¥याउने निर्णय गरे। यसबाट बर्दिवास नगरपालिकामा मात्रै होइन, सम्पूर्ण स्थानीय तहमा नयाँ उदाहरण प्रस्तुत गरेको छ।
कार्यक्रममा सहभागिता जनाएकी बर्दिवास ३ की स्वास्थ्य स्वयं सेबिका उर्मिला कार्कीले भनिन गएको आसार २३ गते मोबाईल फोनमा बैकको खातामा पैसा आएको म्यासेज आयो यसबाट खुशी पनि भए दुखी पनि भए,खुशी यो कुरामाथिए नगरपालिकाले हाम्रो कामको उचित मुल्याङकन गरेर सम्मान स्वरुप थप रकम प्रदान गर्याे दुखी यसकारण बनायो हामीले गरेको सामाजिक योगदनको सेवाबाट अब सधैकालागी टाढा हुने भईयो। ३० वर्षभन्दा बढी समय निःस्वार्थ सेवा दिएकाहरूलाई नगद सम्मान गर्नु केवल आर्थिक सहायता होइन, यो सामाजिक कदरको प्रतीक हो भन्छिन बर्दिवास १४ की जानकी शाही उनि लगायत कार्यक्रममा सहभागि सम्पुर्ण स्वयं सेबिकाहरुले बर्दिवास नगरपालिका तथा नगर प्रमुखलाई धन्यवाद दिएका छन ।
कार्यक्रमको दौरान जब एक एक गरेर महिला स्वास्थ्य स्वयंसेविकाहरूको नाम घोषणा हुँदै गयो, अनि उनीहरूलाई रु १ लाख बराबरको चेक प्रदान गरियो, तब धेरै स्वयंसेविकाहरूलाई भाबुक बनायो ति भाबना पीडा र संघर्षको मात्र होइन, आज राज्य र समाजले आफूलाई सम्झिएको भावनात्मक प्रतिक्रिया थियो।
बर्दिवास नगरपालिकाको यो पहलले अब अन्य स्थानीय तहहरूलाई पनि स्वयंसेविकाहरूप्रति कृतज्ञता व्यक्त गर्न उत्प्रेरित गर्ने विश्वास लिइएको छ।
सामुदायिक स्वास्थ्य सेवा जस्तो मौलिक र जरोमा पुग्ने प्रणालीमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि बर्दिवास नगरपालिकाले देखाएको सम्मान भावी पुस्ताका लागि प्रेरणा बन्नेछ। यो केवल एक सम्मान कार्यक्रम थिएन — यो उनीहरूको जीवन, त्याग र कर्मप्रतिको सामाजिक स्वीकृति र मूल्यांकन थियो।
