आज्ञा खबर
जनकपुरधाम
जनकपुरधामको ऐतिहासिक र धार्मिक महत्व बोकेको सीतापुष्पबाटिका (मणिमण्डप) अब हिन्दू धर्मावलम्बीका लागि विवाह गन्तव्यको रूपमा परिचित हुने तयारीमा छ। उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मणिमण्डप क्षेत्रलाई विवाह संस्कारका लागि उपयुक्त स्थलको रूपमा प्रवर्द्धन गर्न तीनै तहका सरकारहरू, स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहकार्य गर्न आग्रह गर्नुभएको छ।
जनकपुरधाम उपमहानगरपालिका–१३ मा संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयद्वारा निर्मित मणिमण्डपको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले त्रेतायुगमा भगवान् राम र सीताको विवाहका लागि भगवान् विश्वकर्माले निर्माण गरेको मण्डप नै यही हो भन्ने जनविश्वास रहेको स्मरण गराउँदै यसको संरक्षण र समुचित उपयोगका लागि एकीकृत योजना आवश्यक रहेको बताउनुभयो।
“हामीले यो स्थलको ऐतिहासिकता बुझ्दै संरचनात्मक विकासमा ध्यान दिएका छौँ,” सिंहले भन्नुभयो, “अब यसको वैश्विक प्रचारप्रसार र व्यवस्थित सञ्चालनमा सबै सरोकारवाला लाग्न जरुरी छ।”
पर्यटन र अर्थतन्त्रसँग गाँसिएको दृष्टिकोण
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मणिमण्डपलाई विवाह गन्तव्यस्थलको रूपमा विकास गर्नु जनकपुरधामको पर्यटन प्रवर्द्धनका लागि निर्णायक हुने बताउनुभयो। उहाँले वर्तमान पूर्वाधारमा अझै सुधार आवश्यक रहेको र संघीय सरकारले खुला हृदयले लगानी गर्नुपर्ने औंल्याउनुभयो।
“पर्यटक आउँछन् तर बसाइ लम्ब्याउन सक्ने सुविधा छैन,” उहाँले भन्नुभयो, “विवाह स्थलको रूपमा यसको प्रचारले रोजगारी, पर्यटन र स्थानीय व्यापारमा पनि नयाँ ऊर्जा ल्याउनेछ।”
स्थानीय तहको सक्रियतामा जोड
कार्यक्रममा जनकपुरधाम उपमहानगरका प्रमुख मनोज साह, पूर्वमन्त्री महेन्द्र यादव, राष्ट्रिय सभा सदस्य आनन्द ढुंगाना लगायत नेताहरूले मणिमण्डपको संरक्षण र प्रचारप्रसारमा स्थानीय तहको नेतृत्व निर्णायक हुनेमा जोड दिएका थिए। सबैको साझा धारणा थियो— मणिमण्डप केवल धार्मिक स्थल मात्र होइन, समृद्ध पर्यटनस्थल बन्ने सम्भावना बोकेको धरोहर हो।
१८ करोड लगानीमा सुविधा सम्पन्न संरचना
सीतापुष्पबाटिका (मणिमण्डप) आयोजनामा हालसम्म १८ करोड ५३ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको छ। संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयका निमित्त प्रमुख विनोद यादवका अनुसार, आयोजनाअन्तर्गत प्यालेस भवन, धर्मशाला, पवेलियन र पसल क्षेत्र निर्माण गरिएको हो।
प्यालेस भवनमा ७० जना अटाउने बहुउद्देश्यीय हल, १६ वटा बेडरुम, डायनिङ हल, किचेन, संग्रहालय अफिस, टिकट काउन्टर तथा स्टोर रुमहरू छन्। त्यस्तै, दुईवटा धर्मशालामा १३ डोरमिटोरी रुम, डाइनिङ हल, किचेन, विवाह मण्डप, दुई पवेलियन र १० वटा कोठे पसल रहेका छन्।
धार्मिक पर्यटनको सम्भावना: अब कार्यान्वयनको पाटो
जनकपुरधामको ऐतिहासिकता, विशेषतः राम-सीताको विवाहस्थलको रूपमा रहेको मान्यताले गर्दा यहाँ धार्मिक पर्यटनको असीम सम्भावना रहेको छ। तर त्यो सम्भावना कार्यान्वयनमा परिणत गर्न अझ व्यवस्थित पूर्वाधार, सेवा, व्यवस्थापन र अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङको खाँचो देखिन्छ।
उपप्रधानमन्त्री सिंहको भनाइअनुसार, अबको चुनौती निर्माण सम्पन्न संरचनालाई जीवन्त बनाउने हो—स्थानीय र प्रदेश सरकारको सहभागितामा निरन्तर कार्यक्रम, प्रचार अभियान र सेवा सञ्चालनमार्फत।





































