आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित मरहा नदी किनारमा सोमवार साँझ एक युवक मृत अवस्थामा फेला परेका छन्। मृतक बर्दिवास नगरपालिका–१० स्थित मुसहर बस्तीका अन्दाजी ३० वर्षीय संजिव सदा रहेको प्रहरीले जनाएको छ।
संजिव सदा सोमवार साँझ करिब ६ बजे बर्दिवास–५ स्थित मेडिकल कलेजले जग्गा सट्टापट्टाको तयारीस्वरूप काँडे तारले घेरेर वृक्षारोपण गरिएको मैदानमा मृत भेटिएका हुन्। सो स्थान मृतकको घरदेखि करिब एक किलोमिटर उत्तरतर्फ र प्रसिद्ध टुटेश्वर मन्दिरदेखि एक किलोमिटर दक्षिणतर्फ पर्छ।
इलाका प्रहरी कार्यालय बर्दिवास अन्तर्गत अस्थायी प्रहरी पोष्ट माईस्थानस्थित गौशला चोकबाट घटना स्थलमा प्रहरी सहायक निरीक्षक मेघु राय यादवको कमाण्डमा खटिएको टोलीले घटनाबारे प्रारम्भिक जानकारी लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा संजिव सदा मानसिक रूपमा सन्तुलनमा नरहेको र अत्यधिक मात्रामा मादक पदार्थ सेवन गर्ने गरेको थाहा भएको प्रहरीले जनाएको छ। मृतक विगत केही समयदेखि बेवारिसे अवस्थामा रहेको स्थानीयले जानकारी दिएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक बिकास बमको कमाण्डमा एसओसीओ (सिन साइंटिफिक अफिसर) सहितको टोली घटनास्थलमा पुगेर आवश्यक विवरण संकलन गरी अनुसन्धान अघि बढाइएको हो।
घटनास्थल माईस्थानस्थित अस्थायी प्रहरी पोष्टदेखि करिब ७ किलोमिटर उत्तर–पश्चिममा पर्छ।
प्रहरीले मृतकको शव परीक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने बर्दिवास प्रहरीले जनाएको छ।





































