भारतबाट तस्करी गरी ल्याइएको केराउसहितको ट्रक बर्दिवासमा नियन्त्रणमा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडा काँटा नजिकै सोमबार राति प्रहरीले भारतबाट तस्करी गरी ल्याइएको केराउसहित एक ट्रक नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उक्त ट्रक नियन्त्रणमा लिएको हो।

प्रहरी नायब निरीक्षक विश्वबाबु बुढाथोकीको कमाण्डमा खटिएको सूचना संकलन टोलीले राति ईलाका प्रहरी कार्यालय बर्दिवासबाट करिब ९०० मिटर उत्तरतर्फ चेकजाँचका क्रममा म.प्र.०२–००१ ख ०२१८ नम्बरको ट्रकलाई रोकेको थियो।

चेकजाँच गर्दा ट्रकमा भारतबाट तस्करी गरी ल्याइएको ३० किलोको ५० बोरा केराउ फेला परेको प्रहरीको भनाइ छ। विलमा उल्लेख भएको विवरणभन्दा फरक सामग्री पाइएपछि चालकसहित ट्रक नियन्त्रणमा लिइएको हो। प्रहरीले नियन्त्रणमा लिएको केराउको मूल्य प्रति किलो रु. १०० का दरले जम्मा रु. १ लाख ५० हजार रहेको बताएको छ।

यसका साथै नियन्त्रणमा लिइएको ट्रकको अनुमानित मूल्य रु. १५ लाख रहेको छ। प्रहरीले ट्रक र केराउ गरी जम्मा रु. १६ लाख ५० हजार बराबरको तस्करीका सामग्री नियन्त्रणमा लिएको जानकारी दिएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...