झाझ खोलानजिक १सय३३ किलो गाँजासहितको ब्रेजा गाडी फेला, चालक फरार

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट

रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझ खोलानजिक प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा फेला पारेको छ। सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज बिहान झाडीभित्र छाडिएको अवस्थामा ब्रेजा कार फेला पारेको हो, जसमा १३ पोकामा करिब १३३ किलो गाँजा लुकाइएको थियो।

चन्द्रनिगाहपुरबाट सदरमुकाम गौरतर्फ गइरहेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले रोक्न खोजेको थियो। तर चालकले चेकिङबाट उम्किन खोज्दै तीव्र गतिमा गाडी अघि बढाएपछि प्रहरीले त्यसलाई पछ्याएको थियो।

पछ्याउँदै जाँदा उक्त गाडी गरुडा नगरपालिका–५ झाझ खोलानजिकको करिब २० फिट गहिरो झाडीमा फेला परेको प्रहरीले जनाएको छ। गाडी त्यहीँ छाडेर चालक फरार भएका थिए। प्रहरीले क्रेनको सहायताले गाडी निकालेर अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्कीका अनुसार गाडीको सवारी चालक अनुमति पत्र (लाइसेन्स) र अन्य कागजात फेला परेकाले फरार व्यक्तिको पहिचान गर्न सहज हुने विश्वास गरिएको छ। “गाँजासहित गाडी नियन्त्रणमा लिएको छ, फरार व्यक्तिको खोजी तीव्र पारिएको छ,” डीएसपी कार्कीले बताए।

गौरतर्फ गाँजा ओसार्दै गरिएको विशेष सूचनाका आधारमा गरुडा क्षेत्रमा सुरक्षा जाँच कडा बनाइएको प्रहरीले जनाएको छ। यस घटनाले लागुऔषध ओसारपसारमा संगठित समूह संलग्न हुन सक्ने संकेत गरेको प्रहरीले उल्लेख गरेको छ।

रौतहट क्षेत्रमा पछिल्ला दिनमा लागुऔषध ओसारपसारका घटना बढ्दै गएको अवस्थामा प्रहरीले देखाएको सतर्कता र कारबाहीले स्थानीय क्षेत्रमा चर्चा पाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...