आज्ञा खबर
काठमाडौं
मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ बलात्कार आरोपमा पक्राउ परेका छन्। रौतहट घर भएका झा हाल काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा छन्। काठमाडौंका एक २३ वर्षीया युवतीले उनीविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पीडित युवती र झाबीच पारिवारिक चिनाजानी थियो। मधेश प्रदेशको प्रमुख भएका बेला झा प्रायः काठमाडौं आउँदा नयाँ बानेश्वरस्थित पीडितकै घरमा बस्ने गर्थे। पत्रकारिताबाट सार्वजनिक जीवन सुरु गरेका झा त्यतिबेला ‘साँस्कृतिक’, ‘बौद्धिक’ छविका व्यक्ति मानिन्थे। यही छविका भरमा पीडित परिवारले झालाई सद्भावपूर्वक घरमा आश्रय दिएको थियो।
पीडितले प्रहरीमा दर्ता गराएको जाहेरी अनुसार झाले घरमै बसोबास गर्ने क्रममा पटक–पटक बलात्कार गरेका थिए। यति गम्भीर आरोपका विषयमा पीडित परिवारले पनि अन्ततः सत्य उजागर गर्नुपर्ने स्थितिमा पुगे। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, पीडित युवतीको खातामा एकपटक चार लाख रुपैयाँ जम्मा भएको देखिएको छ। प्रहरी श्रोतले भन्यो, “झाले यो रकम युवतीले बार्गेनिङ गरेर लिएको बताएका छन्, तर पीडितको खातामा रकम डिपोजिट भएको हुनाले त्यो दाबी पुष्टि हुने आधार छैन।”
पीडितले २०८१ माघ ३ गते झाविरुद्ध जाहेरी दिएकी थिइन्। सो जाहेरी दर्ता भएपछि झाले उल्टै युवतीविरुद्ध आपराधिक लाभ ९एक्सटर्सन०को मुद्दा दायर गरे। उनले पीडित युवतीले आफूसँग ५० लाख रुपैयाँ मागेको र आफूले चार लाख मात्रै दिएको दाबी प्रहरीसमक्ष गरेका छन्।
तर पीडितले भने सो दाबीलाई स्पष्ट रूपमा अस्वीकार गर्दै प्रहरीसमक्ष बयान दिएकी छन्स् “मविरुद्ध आरोप प्रमाणित गर्न सक्नुभयो भने कारबाही भोग्न तयार छु।”
२०७७ सालको फागुनमा मधेश प्रदेश प्रमुख बनेका झा अदालतले पुर्जी जारी गरेपछि २०८१ चैत २५ देखि फरार थिए। अदालतको आदेशअनुसार हाल झाविरुद्ध बलात्कारसम्बन्धी मुद्दामा अनुसन्धान चलिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी अपिल बोहराले जानकारी दिए।
उनका अनुसार सरकारी वकिल कार्यालयसँग समन्वय गरेर बलात्कार र आपराधिक लाभसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दालाई कसरी अघि बढाउने भन्नेबारे निर्णय गरिँदैछ। अहिराजले आफूमाथिको बलात्कार आरोप अस्वीकार गरेका छन्।





































