आज्ञा खबर
बारा –
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा। सिके राउतले मुलुकमा संघीयता स्थापित त भएको भए पनि व्यवहारमा त्यसलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्।
सोमबार बाराको सदरमुकाम कलैयामा आयोजित एक बृहत् पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै डा। राउतले संघीयता कार्यान्वयनमा प्रमुख दलहरूको इच्छाशक्ति अभाव देखिएको बताए।
‘संघीयता भनेको प्रदेशलाई स्वायत्तता दिने व्यवस्था हो,’ राउतले भने, ‘तर आज पनि प्रदेश सरकारसँग आफ्नै प्रहरी, प्रशासन छैन। कर्मचारी र सुरक्षा संयन्त्र सबै संघअन्तर्गत भएकाले प्रदेश सरकार चाहेको निर्णय कार्यान्वयन गर्न सक्दैन।’
उनले संघीयता सुदृढ बनाउने विषयमा ठूला पार्टीहरू असफल भएको टिप्पणी गर्दै मधेसको हक–अधिकार सुनिश्चित गर्नका लागि सम्पूर्ण मधेसी दलहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिए।
डा। राउतले तराई–मधेससहित देशका विविध समस्या समाधानका लागि संविधान संशोधन अपरिहार्य रहेको धारणा राखे।
‘सरकार जनताको भरोसा जित्ने गरी काम गर्नुपर्छ,’ उनले भने, ‘कांग्रेस र एमालेको नेतृत्वमा बनेको वर्तमान सरकार जनतामा नयाँ आशा जगाउने अवसर हो। तर हालको कार्यशैलीले जनआकांक्षा पूरा गर्न सक्ने देखिँदैन।’
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीय गठबन्धनको व्यवस्थाकै कारण प्रदेश सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरे। तथापि, प्रदेश सरकारले विकास र अधिकार सुनिश्चितताका लागि सम्भव भएसम्म प्रयास गरिरहेको उनले बताए।
पार्टीका बारा जिल्ला अध्यक्ष शवनाथ पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य प्रमोद गुप्ता, मधेस प्रदेशका पूर्व सांसद पारस साहलगायत विभिन्न दल परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका थिए।





































