आज्ञा खबर
गौशाला,
राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले आफ्ना पूर्व अध्यक्ष रामचन्द्र सिंह कुशवाहाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। महासंघकी अध्यक्ष ओम देवी मल्लको नेतृत्वमा एक प्रतिनिधिमण्डल सोमबार कुशवाहाको निवास, गौशाला नगरपालिका–१२, परियामा पुगेर शोकसन्तप्त परिवारसँग भेट गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो।
कार्यक्रममा अध्यक्ष मल्लसँगै महासंघकी सदस्य शारदा दहाललगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। उपस्थित टोलीले स्व। कुशवाहाको तस्बिरमा माल्यार्पण गर्दै सहकारी क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरे।
अध्यक्ष मल्लले दिवंगत कुशवाहालाई दूरदर्शी, निष्ठावान् र कर्मठ नेतृत्वकर्ताको रूपमा स्मरण गर्दै भनिन्, “उहाँको निधनले सहकारी आन्दोलनमा अपूरणीय क्षति पुगेको छ। उहाँको योगदान सँधै स्मरणीय रहनेछ।” उनले परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै धैर्य र शक्ति मिलोस् भन्ने कामना पनि गरिन्।
वि।सं। २०१५ कात्तिक २२ गते जन्मिएका रामचन्द्र सिंह कुशवाहाको २०८२ असार ३१ गते ६७ वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि सहकारी आन्दोलनमा सक्रिय रहेका कुशवाहाले राष्ट्रिय सहकारी महासंघको अध्यक्षको रूपमा उल्लेखनीय भूमिका निभाएका थिए।
महासंघद्वारा सार्वजनिक गरिएको श्रद्धाञ्जली सन्देशमा भनिएको छ,
“कुशवाहाज्यूको असामयिक निधनले सहकारी क्षेत्रमा एक इमानदार, दृष्टिवान् र समर्पित नेतृत्व गुमाएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई यो पीडादायी क्षण सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं।”
राष्ट्रिय सहकारी महासंघले दिवंगतप्रति श्रद्धा प्रकट गर्दै उनका योगदानलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।





































