गौशालामा पशुबजारको ठेक्कालाई लिएर दुई पक्षबीच विवाद, झडपमा चार घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर

गौशाला

गौशाला नगरपालिका–५ स्थित गोरु तथा खसीबजारको ठेक्कालाई लिएर उत्पन्न विवाद झडपमा परिणत हुँदा चार जना घाइते भएका छन्। नगरपालिकाका वडाध्यक्षसहित स्थानीयहरू समेत घाइते भएको घटना पशुबजार ठेक्का व्यवस्थापनमा देखिएको पुरानै विवादको पछिल्लो परिणति हो।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार घाइते हुनेमा वडा नं. २ का वडाध्यक्ष श्यामकुमार मण्डल, स्थानीयहरू विपिन साह, विजय यादव र सुरेन्द्र महतो रहेका छन्। उनीहरूलाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पुर्‍याइएको छ।

स्थानीयहरूका अनुसार विवादको मूल कारण गोरु तथा खसीबजारको ठेक्कामा दुई पक्ष — गौशाला नगरपालिका र निगौल गाई गौशालाबीचको दावी हो। दुबै पक्षले ठेक्का लगाउने अधिकार आफ्नो रहेको बताउँदै राजस्व उठाउने प्रयास गर्दा भिडन्तको अवस्था सिर्जना भएको हो।

प्रहरीका अनुसार निगौल गाई गौशालाले आफ्ना कर्मचारी खटाएर राजस्व सङ्कलन कार्य अगाडि बढाएको थियो। तर नगरपालिकाले सो प्रयासमा अवरोध पु¥याएपछि विवाद चर्किएको हो। यसै क्रममा दुई पक्षबीच भनाभन हुँदै झडप भएको थियो।

निगौल गाई गौशालाका कार्यालय प्रमुख वीरबहादुर चौधरीका अनुसार गौशाला नगरपालिका र गाई गौशालाबीच २०७० सालमै एक सहमति भएको थियो, जसअनुसार पशुबजारको ठेक्काबाट उठ्ने कुल राजस्वको २५ प्रतिशत गाई गौशालालाई दिने सहमति थियो। तर, उनले आरोप लगाउँदै भने, “नगरपालिकाले अहिलेसम्म पाँच करोड रुपैयाँभन्दा बढी बाँकी रकम उपलब्ध नगराइ जबर्जस्ती बजार ठेक्का लगाउँदै आएको छ।”

यसै आधारमा राष्ट्रिय सहकारी विकास बोर्डअन्तर्गत रहेको निगौल गाई गौशालाले बजारको ठेक्का आफूले लिन पाउने अधिकार रहेको बताउँदै प्रत्यक्ष राजस्व उठाउन थालेपछि झडपको अवस्था सिर्जना भएको थियो।

विवादमा रहेको पशुबजार महोत्तरीको गौशाला नगरपालिका–५ मा पर्ने कित्ता नं. ८२, ८३, ८४ को २ बिघा १९ कठ्ठा ११ धुर जग्गामा सञ्चालित छ। यसै स्थानमा दशैँ लगायतका बेला ठूलो संख्यामा पशु किनबेच हुने बजार लाग्ने गर्दछ।

स्थानीयहरू भने पशुबजार व्यवस्थापनमा देखिएको यस प्रकारको अनिश्चितता र विवादले राजस्व पारदर्शिता, स्थानीय सहमति, र शान्तिपूर्ण प्रशासनप्रतिको विश्वासमा प्रश्न उठाएको बताएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...