डेनमार्कमा बसेका भुवनध्वज थापाबाट जन्मथलोको विद्यालयलाई सहयोग, छात्रवृत्ति योजनासमेत घोषणा

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
देशभन्दा टाढा भए पनि मन जन्मथलोमै बाँधिएको हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्, सर्लाहीका भुवनध्वज थापाले। हाल डेनमार्कमा रहेका थापाले आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग हस्तान्तरण गर्दै भविष्यका लागि थप योगदानको प्रतिबद्धता जनाएका छन्।

लालबन्दी नगरपालिका–३ स्थित जब्दी भैरवपुरको मनपुरण जनता माध्यमिक विद्यालयमा एक विशेष कार्यक्रमकाबीच थापाको आर्थिक सहयोगमा विद्यालयका ५० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको छ। थापा स्वयं यसै विद्यालयका पूर्वविद्यार्थी हुन्।

कार्यक्रममा थापाले तत्कालका लागि विद्यालय सुधारको उद्देश्यले एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्। त्यस्तै, आगामी वर्षदेखि विद्यालयको एसइई परीक्षा ९कक्षा १०० मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरिनेछ। घोषित योजनाअनुसार, प्रथम हुने विद्यार्थीलाई १५ हजार, दोस्रोलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ।

सहयोग हस्तान्तरण कार्यक्रम थापाले आफ्ना दिवंगत बुवा धर्मध्वज थापा र आमा मनमाया थापाको सम्झनामा आयोजना गरिएको हो। थापा जनज्योति भूतपूर्व विद्यार्थी समाजका आजीवन सदस्यसमेत हुन्, जसले विगतदेखि विद्यालयको विकासमा रुचि देखाउँदै आएका छन्।

झोला वितरण तथा सहयोग घोषणा कार्यक्रममा लालबन्दी वडा नं। ३ का वडाध्यक्ष बुद्धदेव चौधरी, जनज्योति भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार न्यौपाने, उपाध्यक्ष रमा पौडेल, पूर्व अध्यक्ष कृष्ण भण्डारी, पूर्व कोषाध्यक्ष रोशन बोहोरा, लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीलगायतको उपस्थिति रहेको थियो।

स्थानीयले थापाको यो सहयोगलाई प्रेरणादायी कदम भन्दै प्रशंसा गरेका छन्। विदेशमा रहेर पनि आफ्नै गाउँको शिक्षामा लगानी गर्ने थापाको यो कदमले अन्यलाई पनि सामाजिक उत्तरदायित्वबारे सोच्न उत्प्रेरणा दिने विश्वास लिइएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...