तस्करसँगको ‘डील’ सार्वजनिक भएपछि हिरापुर प्रहरी कार्यालयको पूरै टिम फेर्ने निर्णय

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
तस्करसँगको अवैध ‘मोलमोलाइ’ प्रकरण सार्वजनिक भएपछि सर्लाहीको बरहथवा नगरपालिका–११ स्थित हिरापुर इलाका प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी स्टाफ फेर्ने निर्णय गरिएको छ।

शुक्रबार सार्वजनिक भएको एक अडियो क्लिपमा इलाका प्रहरी कार्यालय हिरापुरका तत्कालीन इन्चार्ज, प्रहरी नायब निरीक्षक ९सइ० बैद्यनाथ दास, एक जना तस्करसँग १८ हजार रुपैयाँको माग गर्दै गरेको आवाज स्पष्ट सुनिन्छ। अडियो सार्वजनिक भएको केही घण्टाभित्रै सइ दाससहित अडियोमा नाम लिइएका प्रहरी जवान सन्तोषकुमार यादवलाई तत्काल प्रभावबाट निलम्बन गरिएको हो।

सिर्जित विवादपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले गम्भीर रूपमा संज्ञान लिँदै हिरापुर कार्यालयमा कार्यरत अन्य आठ जना प्रहरी जवानलाई पनि तत्काल सदरमुकाम मलङ्गवा बोलाएको छ।

सर्लाही प्रहरीका सूचना अधिकारी, डिएसपी सरोज राईका अनुसार, हालसम्म हिरापुरको नेतृत्वका लागि अस्थायी रूपमा इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी सहायक निरीक्षक ९असइ० तुलसी राउतलाई जिम्मेवारी दिइएको छ। अन्य प्रहरीहरूलाई भने जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट खटाइएको छ।

डिएसपी राईका अनुसार, नयाँ सइ पठाउने विषयमा प्रदेश प्रहरी कार्यालयसँग समन्वय भइरहेको छ। यसबीच, प्रहरी नायब निरीक्षक दासले तस्करसँग गरेको संवादको वास्तविकता पुष्टि गर्न जिल्ला प्रहरी निरीक्षक विशाल बुढाथोकीको संयोजकत्वमा एक विशेष अनुसन्धान समिति समेत गठन गरिएको छ।

यो घटनाले प्रहरी संगठनभित्र अनुशासन र उत्तरदायित्वबारे फेरि एकपटक गम्भीर बहस चर्किएको छ। स्रोतका अनुसार, सीमावर्ती क्षेत्रको सुरक्षा, तस्करी नियन्त्रण र प्रहरीको भूमिकामा गम्भीर प्रश्न उठ्न थालेका छन्।

स्थानीय समुदाय भने यस कदमलाई ढिलो भए पनि सही निर्णयका रूपमा लिएको देखिन्छ। हिरापुर जस्तो संवेदनशील सीमाक्षेत्रमा प्रहरीको पारदर्शिता र निष्पक्षता अझ कडा निगरानीमा रहने अपेक्षा पनि बढेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...