आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–७ स्थित फुलवारी टोलका स्थानिय बासिन्दाले शनिबारदेखि एक नयाँ आशाको यात्रा थालेका छन्। नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको उपस्थितिमा खानेपानी तथा सिचाईंका लागि डिप बोरिङ्ग योजनाको शिलान्यास गरिएको हो।
६ इन्च मोटाइ र २ सय फिट गहिराइसम्म गाडिएको यो डिप बोरिङ्ग योजना सानो देखिए पनि यस्ले प्रभाव ठूलो पार्ने विश्वास गरिएको छ। प्रारम्भमा करिब १० घरधुरीलाई लक्षित गरिएको यो योजनाबाट टोलभरिका बासिन्दालाई सुविधा विस्तार गरिने स्थानीयको भनाइ छ।
फुलवारी टोलका बासिन्दा वर्षौंदेखि खानेपानी र सिचाईंको चरम अभाव झेल्दै आएका थिए। वर्षायाममा जमिनको सतहमा पानी देखिए पनि बाँकी समय सुक्खा र प्यासको कहर थियो। कृषिमा निर्भर यस ठाउँका स्थानीयहरूका लागि सिचाईंको अभावले खेत बाँझो बस्ने समस्या चरम थियो।
“हामीले कहिल्यै सोचेनौं, घरको आँगनमै पानीको व्यवस्था हुन्छ भन्ने। आज शिलान्यास भएको देख्दा लाग्यो – साँच्चै नगर सरकार घरदैलोमै आइपुगेको छ,“ स्थानियबासी रामसिस महरा भन्छन्।
नगरप्रमुख क्षेत्रीले योजनाको शिलान्यास गर्दै स्थानीय सरकार जनताको आधारभूत आवश्यकताप्रति गम्भीर रहेको जनाउँदै भने, “हामीकहाँ स्रोत सीमित छन्, तर इच्छाशक्ति र जिम्मेवारी प्रचुर छन्। जनतालाई पानी, सिचाईं, शिक्षा र स्वास्थ्य दिनु हाम्रो पहिलो प्राथमिकता हो।”
उनले यो योजना एउटा नमूना मात्रै नभएको ले आवश्यकता अनुसार नगरका अन्य वडामा समेत यस्तो योजना सञ्चालनमा आएकाले अबका दिनमा यस्ता योजनाहरू अरू टोलमा पनि सञ्चालन गर्दै नगरभित्रको खानेपानी तथा सिचाईको समस्या समाधानगर्ने प्रतिबद्धता जनाए।
यसैगरी फुलवारी टोलका अर्का बासिन्दा चन्दर महरा भन्छन्, “अहिलेसम्म हामीले पानीका लागि टाढासम्म जानुपथ्र्यो। अब त लाग्छ – घाँटी सुकाएर हिँड्नु पर्ने दिन सकिनेछ।”
योजना पूर्णरूपमा सञ्चालनमा आएपछि नजिकैको खेतमा सिंचाइ सहज हुने, मौसमी तरकारी उत्पादनमा वृद्धि भई आम्दानी पनि बढ्ने अनुमान गरिएको छ।
यो सानो देखिने योजना स्थायीत्व र आत्मनिर्भरता निर्माणतर्फको एक ठोस पाइला हो। जब आधारभूत सेवा जस्तै पानीको पहुँच स्थानीय स्तरमै सुनिश्चित हुन्छ, जनताको जीवनस्तरमा मात्र होइन, सोचमा पनि परिवर्तन आउँछ। यसै सिलसिलामा स्थानीय सरकार र नागरिकबीचको बढ्दो सहकार्य र विश्वास भविष्यका दीर्घकालीन विकास योजनाहरू सफल बनाउने खम्बा बन्न सक्छन्।
यसरी फुलवारी टोलमा सुरु भएको डिप बोरिङ्ग योजना केवल एउटा परियोजना मात्र होइन, यो एउटा सन्देश पनि हो – जहाँ सरकारले जनताको पीडा सुन्छ, त्यहाँ समाधान सम्भव हुन्छ। अब, फुलवारी टोलका बासिन्दाहरूले दैनिक जीवनका पीडामाथि विजय हासिल गर्न पानीको बोरिङ्ग चल्न सुरु भएको अनुभूति गर्न थालेका छन्।
