आज्ञा खबर
बरहथवा, सर्लाही
सर्लाहीको बरहथवा नगरपालिका–स्थित इलाका प्रहरी कार्यालय हिरापुरका प्रमुख प्रहरी नायब निरीक्षक ९सइ० बैद्यनाथ दास निलम्बनमा परेका छन्।
तस्करीमा संलग्न एक व्यक्तिसँगको टेलिफोन वार्तालाप सार्वजनिक भएपछि उनलाई तत्काल जिम्मेवारीमुक्त गरिएको हो। सार्वजनिक अडियोमा सइ दासले तस्करी कार्यमा ‘सहयोग’ गर्न भन्दै १८ हजार रुपैयाँ माग गरेको स्पष्ट सुनिन्छ।
दासलाई इलाका प्रहरी कार्यालय बरहथवामा झिकाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए। उनका अनुसार अडियो प्रकरणको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको छ र हिरापुर प्रहरी कार्यालयका लागि नयाँ सइ पठाउने प्रक्रिया अघि बढाइएको छ।
सूत्रका अनुसार सइ दास यसअघि पर्सा जिल्लामा कार्यरत रहँदा पनि अनियमित गतिविधिमा संलग्न भएको आरोपमा निलम्बनमा परेका थिए।
यस घटनाले प्रहरीले तस्करीजस्ता संगठित अपराधप्रति कस्तो व्यवहार राखिरहेको छ भन्ने प्रश्न खडा भएको छ। स्थानीयस्तरमा प्रहरी र तस्करबीचको साँठगाँठबारे समय–समयमा उठ्ने शंका फेरि एकपटक पुष्टि भएको स्थानीय नागरिकको टिप्पणी छ।
