असार महिनाको उत्कृष्ट प्रहरीः डीएसपी बिकास बम

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिबास
इलाका प्रहरी कार्यालय, बर्दिबासमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) बिकास बमलाई २०८२ साल असार महिनाको “उत्कृष्ट प्रहरी“ को रुपमा सम्मानित गरिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीले बमलाई लागुऔषध नियन्त्रणदेखि फरार प्रतिवादी पक्राउ, चोरी तथा मानव बेचबिखन नियन्त्रण, र अबैध उत्खनन विरुद्धका सफल कारबाहीे गरेकोमा यो सम्मान दिएको हो।

डीएसपी बमको नेतृत्वमा असार महिनाभर बिभिन्न सफल कारबाहीहरू भएका छन्। जस्मा लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्दै ६३.१० ग्राम खैरो हिरोइन र २६३.२४ किलोग्राम गाँजा बरामद गरिएको छ। यी घटनाहरूमा सम्बन्धित व्यक्तिहरूविरुद्ध मुद्दा दर्ता गरिएको छ।

यसैबीच, फरार अवस्थामा रहेका १८ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको छ। यस्तै, ४४ लाख ७६ हजार ६ सय ५ रुपैयाँ बराबरको भन्सार छलीका सामग्रीहरू बरामद गरी आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ।

चोरीसम्बन्धी मुद्दाहरूमा पनि डीएसपी बमको नेतृत्वमा महत्त्वपूर्ण सफलता मिलेको छ। ल्यापटप र दुईवटा मोबाइल चोरी गरेको अभियुक्तलाई पक्राउ गरी डाँका मुद्दा दर्ता गरिएको छ। त्यस्तै, प्रतिबन्धित विनक्रेक्स सिरपका १७ बोतल पनि बरामद गरिएको छ।

अबैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्नेहरूमाथि पनि निगरानी बढाइएको छ। बमको टोलीले २ लोडर, ४ टिपर र ४ ट्र्याक्टर गरी कुल १० सवारी साधन नियन्त्रणमा लिई सम्बन्धित निकायमार्फत कारबाही अघि बढाएको छ।

त्यस्तै, मोटरसाइकल चोरी र बिक्रीमा संलग्न ४ जनाको गिरोहलाई समेत नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ।

गम्भीर प्रकृतिका सामाजिक अपराधहरूतर्फ पनि बमले सक्रियता देखाएका छन्। सूचनाका आधारमा स्नेहा होटलमा गरिएको छापामारीमा होटल सञ्चालकसहित ३ पुरुष र २ महिलालाई वेश्यावृत्तिमा संलग्न रहेको आरोपमा पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरिएको छ।

त्यसैगरी, चर्चित गुलाबसा खातुन अपहरण, बलात्कार र हत्या घटनामा संलग्न फरार अभियुक्तहरू राज किशोर साह कुशवाहा र लिला देवी साहलाई समेत पक्राउ गरिएको छ। साथै, सर्लाहीको हरिवन नगरपालिका–३ का ३६ वर्षीय फेकन साह तेलीलाई लागुऔषध गाँजा ओसारपसार सम्बन्धी पुरानो मुद्दामा पक्राउ गरिएको हो।

यी सबै कारबाहीमा डीएसपी बिकास बमले देखाएको सक्रियताले समाजमा शान्ति सुरक्षा र अमनचयन कायमगर्न योगदान पुगेको ठहरगर्दै उनको लगनशीलता र इमान्दारिताको उच्च मूल्याङ्कन गरेर उनलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...