आज्ञा खबर
जनकपुरधाम
‘नेपालको अन्न भण्डार’ भनेर चिनिने मधेश प्रदेशमा यो वर्ष असार सकिँदासम्म पनि खेतबारी हरियाली हुन सकेको छैन। सिँचाइको अभाव र निरन्तरको पानीको कमीले गर्दा यस वर्ष असार मसान्तसम्म प्रदेशभरि जम्मा ३६ प्रतिशत धान रोपाइँ मात्र सम्पन्न भएको छ।
गत वर्ष यसै समयमा ६१ प्रतिशत रोपाइँ भइसकेको थियो भने अघिल्ला वर्षहरूमा त औसत ७५ प्रतिशत रोपाइँ सकिएको तथ्यांक छ। तर यस वर्ष अवस्था एकदमै फरक छ — केही सिँचाइयुक्त क्षेत्रबाहेक अधिकांश खेतमा अझै धानको बिरुवा जमिनमा पुरिएको छैन।
वर्षा सामान्य, आशा अधुरै
गत सोमवार रातिदेखि सक्रिय भएको मौसमी प्रणालीले पूर्वी तराईमा पर्याप्त पानी पर्ने अपेक्षा गरिएको थियो। तर, मौसमले साथ दिएन।
बारा र पर्सा जिल्लामा छिटपुट पानी परेपनि मधेश प्रदेशका अन्य भूभाग अझै बिपत्ताको मुखैमा छन्। मौसमविद् उज्जवल उपाध्याय भन्छन्, “हाललाई ठूलो पानी पर्ने सम्भावना निकै कम छ।”
मौसम विज्ञ धर्मराज उप्रेती का अनुसार पनि कम्तिमा आइतवारसम्म भारी वर्षा गराउने प्रणाली सक्रिय हुने संकेत देखिएको छैन।
रोपाइँ मात्र होइन, खानेपानी पनि संकटमा
सिँचाइ नहुँदा खेती संकटमा परेको हो, तर वर्षा अभावले खानेपानीको हाहाकार पनि बढेको छ।
गाउँगाउँका इनार, चापाकल र अन्य प्राकृतिक जलस्रोतहरू सुक्दै गएपछि स्थानीयवासी बिहानदेखि साँझसम्म पानी खोज्न धाउन बाध्य भएका छन्। यो अवस्था अत्यन्त चिन्ताजनक बनिसकेको छ।
सुक्खा घोषणासँगै चिन्ता थपियो
स्थिति गम्भीर बनेपछि मधेश प्रदेश सरकारले सुक्खा क्षेत्र घोषणा गरिसकेको छ। तर, राहत र वैकल्पिक व्यवस्थाका लागि ठोस कार्यक्रम नहुँदा किसानहरूको पीडा झनै बढेको देखिन्छ।
भविष्यको चिन्ता : अन्न संकटको संकेत
कृषिविद्हरू चेतावनी दिन थालेका छन् — यदि आगामी एक-दुई साताभित्र पर्याप्त पानी परेन भने धान उत्पादनमा इतिहासकै ठूलो गिरावट आउनेछ।
मधेश प्रदेश नेपालको प्रमुख धान उत्पादक क्षेत्र हो। यहाँको उत्पादनमा आएको गिरावटले राष्ट्रिय खाद्य सुरक्षामै असर पार्न सक्ने सम्भावना प्रबल छ।





































