आज्ञा खबर
सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुरमा बिहीबार बिहान करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घटना न्यू माँ राजदेवी खाद्य उद्योग परिसरभित्र भएको हो।
रौतहटबाट धानको भुस लिन आएको ना। ६ ख ७५५० नम्बरको ट्रकलाई उद्योग परिसरमा प्रवेश गराउने क्रममा ट्रकमाथि चढेर ११ हजार भोल्ट क्षमताको विद्युत् तार हटाउने प्रयास गर्दा मजदुरहरू करेन्टको चपेटामा परेका थिए।
करेन्ट लागेर रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक बीरेन्द्रसिंह जोहारीले जानकारी दिए। गम्भीर घाइते दिनेशलाई तत्काल हरिवनस्थित नमूना अस्पताल लगिएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।
उक्त घटनामा सोही ट्रकमा कार्यरत २५ बर्षिय मजदुर कुन्दन पासवान र ४० बर्षिाय जागेश्वर पासवान ९४०० पनि घाइते भएका छन्। दुवैजना बृन्दावन नगरपालिका–७, रौतहटकै बासिन्दा हुन्। हाल उनीहरूको हरिवनको नमूना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ट्रक चलाइरहेका पर्साको वीरगन्ज महानगरपालिका–३० निवासी ३९ वर्षीय शेख लाल महम्मद भने सकुशल रहेका छन्। घटनापछि ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्थानीय उद्योग परिसरको छतभन्दा केहीमाथिबाट गुज्रिएको उच्च भोल्टेजको लाइनमा लापरबाहीपूर्वक हस्तक्षेप गर्दा ज्यान जाने दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
नवलपुरमा ट्रकमाथि चढेर तार हटाउने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु, दुई घाइते
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech
