खडेरीमा आशाको धाराः फुलवारी टोलमा डिप बोरिङ्ग योजनाको शुभारम्भ

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
“हामीले धेरै वर्षदेखि पानीको समस्या झेलिरहेका थियौं। हिजो आज यस्तो गर्मीमा पानी ल्याउन टोलबाट टाढासम्म जानुपर्ने अवस्था थियो,“फुलवारी टोलका स्थानीय रामेश्वर महतो सुनाउँछन्,“अब नगरले डिप बोरिङ्ग गाड्न शुरु गरेपछि हामीमा आशाको सञ्चार भएको छ।“
बर्दिवास नगरपालिका–७ अन्तर्गतको फुलवारी टोलमा बिहिबार खानेपानी तथा सिचाइका लागि डिप बोरिङ्ग शिलान्यास गरिएको छ। नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले उक्त डिप बोरिङ्ग योजनाको औपचारिक शिलान्यास गगरेका हुँन।
शिलान्यास कार्यक्रममा उनले यो आयोजनाले स्थानीयको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। कार्यक्रममा नगर प्रमुख क्षेत्रीले भने, “स्थानीय समस्या समाधान गर्न नै जनप्रतिनिधि भएका हौं। अब खानेपानी र सिचाइ दुबैका लागि यो बोरिङ्ग प्रभावकारी हुनेछ। जनताको मेहनत र करको पैसालाई सदुपयोग गर्दै विकासका पाइलाहरू अगाडि बढाइनेछ।“

उनका अनुसार डिप बोरिङ्ग गाडिएपछि त्यसबाट निस्कने पानीलाई पाईपलाईन प्रणालीमार्फत टोलका लक्षित घरमा पु¥याउने योजना बनाइएको छ। साथै, आवश्यक परेमा त्यसै पानीलाई सिचाइमा पनि प्रयोग गर्न सकिनेछ।
विगत केही वर्षयता फुलवारी टोलमा खानेपानीको समस्या विकराल बनेको छ। एकातिर बढ्दो शहरीकरण, अर्कोतिर भूमिगत जल स्रोतको सतह घट्दै जाँदा परम्परागत इनारहरू सुकेका छन्। गर्मीयाममा खेत सिचाइ असम्भवजस्तै थियो भने घरायसी प्रयोजनको पानीसमेत ट्यांकर र सार्वजनिक धारामा भर पर्नुपर्ने अवस्था थियो।

“हामीले बारम्बार नगरमा उजुरी दियौं। समस्या देखिरहेका थियौं। अन्ततः नगर प्रमुख स्वयं आएर कामको थालनी गरे, यसले जनतामा भरोसा फर्किएको छ,“ स्थानिय बाबुराम महतोले भने।

बोरिङ्गको गहिराइ २ सय फिट रहेको बताईएको छ ।
यस डिप बोरिङ्गबाट करीब २० घरधुरी, लाभान्बित हुँने वडा नम्बर ७ का अध्यक्ष रामस्वगारथ यादब(भोरील)ले जानकारी दिए ।
डिप बोरिङ्ग गाड्न शुरु भएपछी स्थानीयले खुशी व्यक्त गरे।

“यो पानीको धाराले मात्र होइन, हाम्रो आशा र आत्मबल पनि बग्नेछ,“ ७५ वर्षीया एकजना बृद्धको भनाइले सबैको मन छोयो।
फुलवारी टोलमा विभिन्न जात–जाती र वर्गको बसोबास रहेको छ। पानीको अभावले यस ठाउँमा कहिलेकाहीं सामाजिक तनाव समेत सिर्जना गर्ने गरेको थियो। अब भने यो योजना सामाजिक समरसता र सहकार्यको एउटा जीवन्त उदाहरण बन्ने संकेत देखिन्छ।
डिप बोरिङ्गपछि पाइपलाइन बिच्छ्याउने, र वितरण प्रणाली सुदृढ गर्ने काम बाँकी छन्। नगरप्रमुखले निर्माणको अनुगमनमा कडाइ गर्ने प्रतिबद्धता जनाए।

वडामा भरपर्दो र दिगो समाधान खोजिएको हो। विकासको गति अब रफ्तारमा अगाडि बढ्छ,“ वडा नम्बर ७ का वडाध्यक्ष राम स्वगारथ यादव(भोरील) ले थपे।
बर्दिवास–७ फुलवारी टोलमा सुरु गरिएको डिप बोरिङ्ग योजना केवल पानीको स्रोत निर्माण मात्र होइन, जनआस्था, राजनीतिक इच्छाशक्ति र समावेशी विकासको एक गहिरो उदाहरण पनि हो। जब विकास जनताको घरदैलोमा पुग्छ, त्यहीँबाट समृद्धिको यात्रा सुरु हुन्छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...