मन्त्री यादवको चेतावनी: “राजनीतिक एकता बिना वन संरक्षण असम्भव”

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
मधेस प्रदेशका वन तथा वातावरण मन्त्री संजय कुमार यादवले राजनीतिक दलहरूबीच सहकार्य र एकता नहुन्जेलसम्म वन संरक्षणको प्रयास सार्थक नहुने स्पष्ट पारेका छन्।

मंगलबार महोत्तरीको जलेश्वरस्थित डिभिजन वन कार्यालयद्वारा सञ्चालित नर्सरीको स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले भने, “राजनीतिक रुपमा एउटै धारमा नउभिएसम्म वन संरक्षणको नीति कार्यान्वयन सफल हुन सक्दैन। साझा उद्देश्यबिना पूर्वाधार र स्रोत साधन भए पनि परिणाम आउँदैन।”

जलवायु परिवर्तनका असरहरू तीव्र रुपमा देखिन थालेको उल्लेख गर्दै उनले वातावरणीय संकटको समाधान वृक्षारोपणमै रहेको धारणा व्यक्त गरे। “पानीको अभाव दिनप्रतिदिन चर्किँदै गएको छ। यसको दीर्घकालीन समाधान भनेकै हरियाली विस्तार हो,” मन्त्री यादवले भने।

उनले विगतमा जथाभावी रूख कटान भएकाले अहिलेको समय वृक्षारोपणलाई प्राथमिकता दिने बेला भएको पनि उल्लेख गरे। “हाम्रा पुराना र महत्वपूर्ण रूखहरू कटान गरिए, तर त्यसको क्षतिपूर्ति गर्न सक्ने गरी वृक्षारोपण भएन। अब ढिला नगरी वृक्षरोपण अभियानमा जुट्नुपर्छ,” उनले भने।

कार्यक्रममा मधेस प्रदेश वन निर्देशनालयका निर्देशक जगन्नाथ प्रसाद जयसवाल, वन अधिकृत सुजित कुमार झा, डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्रसहित अन्य कर्मचारीहरूको पनि उपस्थिति थियो। उनीहरूले नर्सरीको अवस्थाबारे मन्त्रीलाई जानकारी गराएका थिए।

वन संरक्षण र हरियाली विस्तारका लागि राजनीतिक इच्छाशक्ति, प्रशासनिक सक्रियता र नागरिक सहयोगको त्रिकोणीय समन्वय आवश्यक रहेको मन्त्री यादवको धारणा थियो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...