आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिका वडा नं. ७ मा दुई तल्ले नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ। बुधबार आयोजित उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले बर्दिवास नगरपालिकाको समग्र विकासप्रति आफू पूर्णतः जिम्मेवार भएर क्रियाशील रहेको बताएका छन्।
कार्यक्रममा नगरप्रमुख क्षेत्रीले वडा भवन निर्माणको क्रममा वडाका जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय जग्गादातासहित सबै सरोकारवालाको सहमति र सहकार्यमा काम सम्पन्न भएको जानकारी दिए। उनले हालको समयमा मधेश प्रदेश सुख्खा क्षेत्र घोषणा गर्न लागिएको सन्दर्भमा बर्दिवास–७ पनि प्रभावित क्षेत्रमा पर्ने भएकाले पानी संकट समाधान गर्न नगरपालिकाले प्राथमिकता दिएको उल्लेख गरे।
“वडाको विभिन्न ठाउँमा डिप बोरिङ गडिएका छन्, बाँकी स्थानमा पनि थप बोरिङ गरेर खानेपानीको व्यवस्था मिलाइनेछ,” क्षेत्रीले भने, “यस्ता समस्यालाई गम्भीरतापूर्वक लिन हामी प्रतिवद्ध छौं।”
कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले वडाको आफ्नै प्रशासनिक भवन तयार हुनु गौरवको विषय भएको बताए। “ संघीयतापछिको सिंहदरवार घर–घरमा भन्ने नारा कार्यान्वयन गर्न वडा कार्यालयको महत्वपूर्ण भूमिका हुन्छ,” उनले भने, “वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन सक्नु आवश्यक छ, यसले सेवाको गुणस्तर बढाउँछ।”
प्रशासकीय अधिकृत अधिकारीका अनुसार वडा कार्यालयका भवन निर्माण नगरपालिकाको प्रमुख प्राथमिकता भएको बताउँदै नागरिकले वडा कार्यालयबाट अपेक्षा गरेअनुसार सेवा प्राप्त गर्न पूर्वाधारको राम्रो व्यवस्था हुनु जरुरी रहेकोमा उनले जोड दिए।
उक्त भवन वडा नं. ७ का अध्यक्ष राम स्वगारथ यादव (भोरील) को संयोजनमा निर्माण गरिएको हो। उनले जानकारी गराएअनुसार भवन निर्माण २०८१ साल असार २६ गतेबाट सुरु भई २०८२ साल असार २३ गते सम्पन्न भएको हो। ३७ लाख रुपैयाँको लागतमा बनेको दुई तल्ले भवनको पहिलो तलामा ४ कोठा तथा दोस्रो तलामा सभाहलसहित २ कोठा रहेका छन्।
स्थानीय वासिन्दाहरूले नयाँ भवन निर्माणसँगै सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरेका छन्। उद्घाटन कार्यक्रममा वडाका जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय नेताहरू, नागरिक समाजका प्रतिनिधि, महिलासमूह, युवा र वृद्ध नागरिकको उल्लेख्य उपस्थिति थियो। उद्घाटन कार्यक्रममा भबन निर्मणका क्रममा सहयोगगर्ने जनप्रतिनिधि कर्मचारी भबन निर्माण समितीका पदाधिकारी,सदस्य,प्राबिधिक लगायतलाई सम्मान गरीएको थियो ।
