आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तावित बजेट सत्तारुढ गठबन्धनका सदस्यहरूको मात्रै समर्थनमा पारित गरेको छ। प्रमुख विपक्षी दलहरूले प्रक्रिया र पारदर्शिताको असन्तुष्टि जनाउँदै बजेटमाथिको छलफल र मतदानबाट बहिर्गमन गरेका थिए।
आइतबार बसेको प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गरे। तर बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित अन्य विपक्षी दलहरू अनुपस्थित थिए।
विपक्षी सांसदहरूले बजेटसम्बन्धी मूल कागजात ‘रेडबुक’ मा सांसदलाई दिइएको प्रति र कार्यदललाई उपलब्ध गराइएको संस्करणमा २९४ पृष्ठको भिन्नता रहेको दाबी गर्दै गम्भीर आपत्ति जनाएका थिए। यो असमानता र अस्पष्टतालाई लिएर उनीहरूले कार्यदलको बैठक र प्रदेशसभाको पूर्ण बैठक दुबै बहिष्कार गरेका थिए।
विपक्षी दलहरूले सरकारलाई आर्थिक अनियमिततामा संलग्न भएको आरोप पनि लगाएका छन्। “यस्तो अपारदर्शी ढंगले बजेट पास गर्नु जनताप्रति धोका हो,“ एक विपक्षी नेताले प्रतिक्रिया दिए।
सरकार पक्षले भने बजेट विधेयक समयमै पारित गर्नुपर्ने बाध्यता रहेको र प्रक्रियाअनुसार सबै प्रक्रिया पूरा गरिएको दाबी गरेको छ। सत्तापक्षका एक सांसदले भने, “विपक्षको प्रश्न स्वाभाविक भए पनि बैठक बहिष्कार गर्नु जिम्मेवार विपक्षको भूमिका होइन।”
यद्यपि, बजेट पास भए पनि बजेट निर्माणमा देखिएको विवाद र असन्तुष्टि समाधान नभएसम्म यसको कार्यान्वयनमा चुनौती देखिने संकेतहरु देखिएका छन्।





































