ईश्वरपुर–१३ घोषित भयो ‘सतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको वडा’

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही

सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१३ लाई ‘सतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको वडा’ घोषणा गरिएको छ। सरकारको मापदण्ड अनुसार चार वर्षदेखि १२ वर्ष उमेर समूहका सबै बालबालिका विद्यालयमा सहभागी भएपछि उक्त वडाले यस्तो उपलब्धि हासिल गरेको हो।

वडाध्यक्ष तिलबहादुर तामाङ (तिलक) का अनुसार विद्यालय बहिर्गमन न्यूनीकरण गर्दै बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने अभियानअन्तर्गत वडाभित्रका सम्पूर्ण बालबालिका विद्यालय भर्ना भएपछि यो घोषणा गरिएको हो। यसअघि पनि ईश्वरपुरकै वडा नम्बर ४ र सीमामा रहेको बलरा नगरपालिकाको एक वडाले यस्तै उपलब्धि हासिल गरिसकेका छन्।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता’ भन्ने मूल नारासहित ग्रामीण नारी उत्थान संघ, हरिपुर र सेभ द चिल्ड्रेनको समन्वयमा यो उपलब्धि हासिल भएको हो। कार्यक्रममा प्रत्येक वर्ष नयाँ थपिने बालबालिकालाई समेत विद्यालयमा भर्ना गराउने प्रतिबद्धता हस्ताक्षरसहित लिइएको छ।

उक्त अवसरमा वडामा सतप्रतिशत भर्ना सुनिश्चित गर्न योगदान पु¥याउने सामुदायिक र निजी विद्यालयहरू, दातृ निकाय तथा सहयोगी संस्थाहरूलाई प्रमाण–पत्रसहित सम्मान गरिएको थियो।

ईश्वरपुर–१३ मा हाल चारवटा सामुदायिक आधारभूत विद्यालय र तीनवटा निजी विद्यालय रहेका छन्। विद्यालय, स्थानीय तह, अभिभावक तथा साझेदार संस्थाबीचको समन्वयबाट प्राप्त सफलताले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिएको सरोकारवालाहरूको भनाइ छ।


  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...