आज्ञा खबर
बर्दिवास, महोत्तरी
बर्दिवास नगरपालिका–५ मा अवस्थित ऐतिहासिक एवं धार्मिक स्थल टुटेश्वरनाथ महादेव मन्दिरमा साउन महिनाको सोमबारदेखि लाग्ने वार्षिक मेला यसपटक विशेष रूपमा मर्यादित, सभ्य र भव्य बनाउने तयारी गरिएको छ। मेलालाई व्यवस्थित गर्न बर्दिवास नगरपालिकाले विभिन्न निकाय र सरोकारवालाबीच सहकार्यको अपेक्षा गरेको छ।
शनिवार मन्दिर परिसरमै आयोजित तयारी बैठकमा नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले मन्दिर संरक्षण समिति र नगरपालिकाको पर्यटन पूर्वाधार विकास समितिबीच सहकार्य अपरिहार्य रहेको बताउँदै, धार्मिक पर्यटन प्रवद्र्धनसँगै मेलालाई व्यवस्थित बनाउने साझा लक्ष्यका लागि एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।
उनले भने,धार्मिक स्थलको संरक्षण र विकास नगरपालिकाको प्रमुख प्राथमिकता हो। टुटेश्वरनाथजस्तो गहिरो आस्थाको केन्द्रमा आयोजना हुने मेला बर्दिवासको सांस्कृतिक,पर्यटन तथा धार्मिक पहिचानलाई नयाँ उचाइ दिन सक्षम हुनुपर्छ,“ नगर प्रमुख क्षेत्रीले हरेक वर्ष लाग्ने मेलामा स्थानीय उत्पादनको उपयुक्त प्रवद्र्धन नहुँदा मन्दिर आसपासका स्थानीय नागरिकको आर्थिक अवस्था बलियो हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे। उनले यस वर्षदेखि मेलामा स्थानीय कृषि, हस्तकला तथा घरेलु उत्पादनहरूका लागि पृथक स्टलको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्। “धार्मिक मेलामार्फत आर्थिक गतिविधिलाई पनि जोड्नु अहिलेको आवश्यकता हो,”क्षेत्रीले भने।
नेपालकै प्रसिद्ध तीर्थस्थलहरूमध्ये एक मानिने टुटेश्वरनाथ महादेव मन्दिरमा साउन महिनाको सोमबार देश–विदेशबाट हजारौँ श्रद्धालु दर्शनका लागि आउने गर्दछन्। तीर्थयात्रीको भिडलाई व्यवस्थित गर्न मेलामा सुरक्षा, यातायात, स्वास्थ्य तथा अन्य सेवा संयोजनको तयारी अघि बढाइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले मेला अवधिभर सवारीसाधनको चापलाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापनको विशेष योजना लागू गर्ने जनाएको छ। मेला क्षेत्रमा सवारी आगमन–निर्गमनको अलग व्यवस्था, पार्किङ स्थलको व्यवस्थापन र ट्राफिक ब्यवस्थापन प्रणालीलाई प्राथमिकतामा राखिनेछ।
दर्शनार्थीको सुरक्षाका लागि २५ जना नेपाल प्रहरी तथा २५ जना सस्त्र प्रहरी परिचालन गरिनेछ भने मन्दिर परिसर तथा आसपासको क्षेत्रमा पर्याप्त स्वयंसेवक परिचालन गर्दै मेलाको व्यवस्थापनमा सहयोगी भूमिका सुनिश्चितगर्ने मेला सञ्चालन समितीका सचिव गोबिन्द श्रेष्ठले जानकारी दिए।
मेलाको भीडभाडमा, चोरी–डकैतीजस्ता अवाञ्छित गतिविधि रोक्न र समग्र सुरक्षालाई अझ व्यवस्थित बनाउन मन्दिर परिसरमा सीसी क्यामेरा जडान गरिने निर्णय बैठकमा गरिएको छ। निगरानी प्रणाली सुदृढ बनाएर दर्शनार्थीको सहजता र सुरक्षालाई सुनिश्चित गरिने बताईएको छ।
तयारी बैठकमा वडा नम्बर ५ का वडा सदस्य सुरक्षा निकायका प्रतिनिधि, मन्दिर संरक्षण समिति, स्वयंसेवक समूह लगायत सरोकारवालाको उल्लेख्य उपस्थिति थियो। सहभागीतामूलक योजना, सहकार्य र पारदर्शितामार्फत मेलालाई सफल बनाउने प्रतिबद्धता सबै पक्षबाट व्यक्त भएको थियो।
स्थानीय बासिन्दाहरूले पनि मेलाको व्यवस्थापनमा पालिकाको सक्रियता र समन्वयात्मक प्रयासलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूका अनुसार मन्दिर परिसरको सरसफाइ, खानेपानी, शौचालय र विश्रामस्थल व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण पक्ष हुन्, जसमा सरोकारवालाहरुको ध्यान केन्द्रित गरिनुपर्छ।
यस वर्षको टुटेश्वरनाथ महादेव मेला धार्मिक आस्था मात्र होइन, स्थानीय पहिचान, पर्यटन विकास र आर्थिक समृद्धिसँग गाँसिएको बहुआयामिक उत्सवका रूपमा परिचित हुने संकेत यस बैठकले स्पष्ट पार्दछ। नगरपालिकाको पर्यटन प्रबद्धन पुर्वाधार बिकास समितीको नेतृत्वमा मन्दिर संरक्षण समिति र सम्पूर्ण समुदायको सहकार्यले मेलालाई सफल बनाउन निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।





































