कमला नगरपालिकामा आगलागी पीडितलाई निःशुल्क काठ वितरण

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषाको कमला नगरपालिकामा केही महिनाअघि आगलागीबाट घरविहीन भएका २३ घरपरिवारलाई पुनःस्थापना गर्न सहयोगस्वरूप डिभिजन वन कार्यालय धनुषाले निःशुल्क काठ वितरण गरेको छ।

शुक्रबार आयोजित एक विशेष कार्यक्रममा डिभिजन वन कार्यालयले हरेक पीडित परिवारलाई साल प्रजातिको १६ देखि १८ क्यूफिटसम्म काठ निःशुल्क उपलब्ध गराएको हो। डिभिजनल वन अधिकृत विनोद सिंहका अनुसार विपद् प्रभावित नागरिकलाई संघीयता पश्चात प्रत्यक्ष रूपमा काठ वितरण गरिएको यो पहिलोपटक हो।

“घरबार गुमाएका पीडितहरूको पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले काठ वितरण गरिएको हो,” प्रमुख सिंहले बताए।

काठ वितरण कार्यक्रममा मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री सञ्जयकुमार यादव, प्रदेश वन सचिव उद्धवबहादुर घिमिरे, वन निर्देशनालयका निर्देशक जगन्नाथ जैसवाल, कमला नगरपालिकाका नगरप्रमुखसहित जनप्रतिनिधि र स्थानीय वनकर्मीको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै मन्त्री यादवले भने, “वन हाम्रो साझा सम्पत्ति हो। यो जनताको अधिकारभित्र पर्छ। विपद् आइपर्दा जनताको हितका लागि यसको प्रयोग हुनु स्वाभाविक हो।”

सचिव घिमिरेले भने, “ऐन, नीति र सोचअनुसार वन स्रोतलाई मानवीय कल्याणका लागि प्रयोग गर्न सकिन्छ। यस्तो राहत वितरण कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिनेछ।”

स्थानीय स्तरमा वन स्रोतको सामाजिक उपयोगको यो पहलले प्रदेशमा जनकल्याणमुखी वन प्रशासनको सुरुआत भएको संकेत गरेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...