मधेश प्रदेश सुख्खाग्रस्त घोषित, किसानका लागि विशेष राहत प्याकेज माग

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

मधेश प्रदेश सरकारले लगातारको वर्षा अभाव र त्यसले पारेको कृषि संकटलाई ध्यानमा राख्दै सम्पूर्ण प्रदेशलाई “सुख्खाग्रस्त क्षेत्र” घोषणा गरेको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वातावरणीय असन्तुलनका कारण समयमै वर्षा नहुँदा धान रोपाईमा व्यापक असर परेको र रोपिएको धानसमेत मर्ने अवस्थामा पुगेको भन्दै यस्तो निर्णय गरेको हो। खेतमा चिरा पर्न थालेपछि किसानको चिन्ता थपिएको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारका प्रवक्ताका अनुसार, “सुख्खाको प्रत्यक्ष मारमा परेका किसानहरूको राहतका लागि संघीय सरकारसँग विशेष राहत प्याकेज घोषणा गर्न आग्रह गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।” साथै, कृषि क्षेत्रमा क्रियाशील दातृ निकाय र साझेदार संस्थाहरूलाई आवश्यक सहयोगका लागि आह्वान पनि गरिएको छ।

मन्त्रिपरिषद् बैठकले अहिले प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी संकटलाई गम्भीर रूपमा लिँदै समाधानका लागि आवश्यक स्रोत र साधन परिचालन गर्ने निर्णय पनि गरेको छ। विशेष गरी पर्साको वीरगंज लगायतका शहरमा पिउने पानीको हाहाकार देखिएको भन्दै संघीय खानेपानी मन्त्रालयसँग ट्याङ्करमार्फत आपूर्ति गर्न आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ।

खडेरीको चपेटामा परेको मधेशका किसानका लागि आगामी दिन चुनौतीपूर्ण हुने देखिएको छ। प्रदेश सरकारले संघीय निकाय र अन्य सरोकारवालासँगको सहकार्यमा तत्काल राहत र दीर्घकालीन समाधानतर्फ अग्रसर हुने संकेत दिएको छ।


  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...