आज्ञा खबर
बर्दिवास
गुरु पूर्णिमाको पावन अवसरमा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले सम्पूर्ण गुरुजनहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै हार्दिक शुभकामना सन्देश जारी गरेका छन्।
शुभकामना सन्देशमार्फत मेयर क्षेत्रीले गुरुहरूको योगदानलाई जीवनको अमूल्य धरोहरको रूपमा स्मरण गर्दै भनेका छन्, “गुरु ज्ञान, संस्कार र नैतिकताको साँचो दीप हुन्। उनीहरूकै मार्गदर्शनमा हामी उज्यालो भविष्यतर्फ अघि बढ्न सक्छौं।“
उनले शिक्षा प्रणालीको आधारशिला गुरु नै भएको उल्लेख गर्दै शिक्षकहरूको परिश्रम, समर्पण र योगदानप्रति सम्मान व्यक्त गरे। “गुरुहरू विद्यालय, समुदाय र राष्ट्र निर्माणका मूल स्तम्भ हुन्। उनीहरूको भूमिकालाई सम्झिनु, सम्मान गर्नु र मूल्यांकन गर्नु आजको दिनको प्रमुख सन्देश हो,“ क्षेत्रीले उल्लेख गरे।
नगरप्रमुख क्षेत्रीले नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामार्फत बर्दिवास नगर क्षेत्रभित्रका शिक्षकहरूको क्षमता अभिवृद्धि, सम्मान तथा समुचित व्यवस्थापनमा आफूले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको जानकारी पनि दिएका छन्।
उनले गुरु पूर्णिमाको अवसरमा सबै अभिभावक, शिक्षक, विद्यार्थी र नगरवासीहरूमा परस्पर श्रद्धा, संस्कार र शैक्षिक उत्थानका लागि सहकार्य गर्न आह्वान समेत गरेका छन्।
“यस गुरु पूर्णिमाले हामी सबैमा गुरुप्रति कृतज्ञता प्रकट गर्ने भावना जागोस्,“ मेयर क्षेत्रीले सन्देशको अन्त्यमा उल्लेख गरेका छन्।





































