मुख्यमन्त्री सिंहको प्रस्ताव: ‘अयोध्या–जनकपुरधाम जोडेर मधेशलाई पर्यटन गन्तव्य बनाऔं’

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशमा विद्यमान पर्यटन सम्भावनालाई पूर्ण उपयोग गर्न भारतको अयोध्यालाई जनकपुरधामसँग प्रत्यक्ष रुपमा जोड्नुपर्ने आवश्यकता औंल्याएका छन्।

मंगलबार जनकपुरधाममा आयोजित ‘पर्यटन प्रचार–प्रसार तथा अन्तरक्रिया कार्यक्रम’ को समापन सत्रमा बोल्दै उनले भने, “अयोध्याको राममन्दिरमा दर्शन गर्न आउने लाखौं श्रद्धालुहरूमध्ये यदि १० प्रतिशतलाई मात्र जनकपुर ल्याउन सकियो भने, नेपालको कुल पर्यटक संख्या भन्दा बढी पर्यटक मधेश प्रदेशमै आउन सक्छन्।”

उनका अनुसार यस्तो सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्न प्रभावकारी प्रचार–प्रसार र अन्तरदेशीय सहकार्य अपरिहार्य छ। “पर्यटकलाई मधेशमै पाँच दिनसम्म राख्ने गरी विविध स्थलहरूको समेटिएको प्याकेज बनाउन जरुरी छ,” उनले थपे।

मुख्यमन्त्री सिंहले भारतीय नागरिकहरूको सवारी भन्सार सम्बन्धी झन्झट हटाउन ‘डिजिटल भन्सार प्रणाली’ लागू गर्न संघीय सरकारसँग माग गरेका छन्। उनले भने, “डिजिटल प्रविधिको प्रयोगबाट भारतीय पर्यटकले नेपाल प्रवेश गर्नुभन्दा पहिलै अनलाइनबाट भन्सार तिरेर सजिलै नेपालका जुनसुकै गन्तव्य घुम्न सक्ने व्यवस्था मिलाउनुपर्छ।”

यसैक्रममा उनले धनुषाधाममा रामायणमा उल्लेखित १३६ प्रकारका वनस्पतिहरू राखेर ‘रामायण वाटिका’ निर्माण गर्ने तयारी भएको जानकारी समेत गराए। उनले यो वाटिका धार्मिक पर्यटनसँगै अध्ययन–अनुसन्धानको केन्द्र बिन्दु बन्ने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका पदाधिकारी, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका प्रतिनिधि, विभिन्न जिल्ला पत्रकार महासंघका पदाधिकारीहरू, होटल व्यवसायी, पर्यटन क्षेत्रका सरोकारवाला तथा विज्ञहरूको उल्लेखनीय उपस्थिति थियो।

समापन सत्रले मधेश प्रदेशको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणसँगै दिगो पर्यटन विकासका लागि तीन तहका सरकारबीच सहकार्यको खाँचो रहेको स्पष्ट पारेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...