आज्ञा खबर
धनुषा
जनकपुरधाममा ससुराको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा फरार रहेका बेचन महासेठलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका–१५ निवासी ६५ वर्षीय वासुदेवप्रसाद साहको असार १८ गते चक्कु प्रहार गरी हत्या गरिएको थियो। उनलाई उनकै नाताका ज्वाइँ पर्ने ५५ वर्षीय बेचन महासेठले पारिवारिक विवादका कारण हत्या गरेको अनुसन्धानमा खुलेको धनुषा प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका महासेठलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले जनकनन्दनी गाउँपालिका–५ स्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरेको हो। पक्राउपछि बुधबार उनलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक ९एसपी० नरहरी रेग्मीले जानकारी दिए।
अनुसन्धानका क्रममा प्रहरीले घटनामा प्रयोग भएको स्टिलको चक्कु र अभियुक्तले भाग्न प्रयोग गरेको मधेस प्रदेश ०२–००७ प ९९३२ नम्बरको रातो–कालो रंगको होन्डा स्कुटरसमेत बरामद गरेको छ।
प्रहरीका अनुसार अभियुक्त महासेठ र वासुदेवप्रसाद साहबीच घरायसी विवाद चर्किएपछि सोही रिसइबीका कारण उनले आफ्नै ससुराको पेटमा चक्कु प्रहार गरेका थिए।
हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





































