बर्षा र बाढी पहिरोको जोखिमबारे बर्दिवास नगरपालिकाको सतर्कता अपिल

[sharethis-inline-buttons]

अज्ञा खबर
बर्दिवास, महोत्तरी

यस वर्षको मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो र चट्याङका घटनाहरू बढ्दै गएका छन्। मौसम विज्ञान विभागले यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा अत्यधिक वर्षा हुने पूर्वानुमान गरिसकेको छ। त्यसैका आधारमा हिमाली तथा पहाडी जिल्लाहरूमा हालसालै अत्यधिक वर्षा भई ठूलो जनधनको क्षति भएको समाचार आइरहेका छन्।

यस सन्दर्भमा बर्दिवास नगरपालिकाले नगरक्षेत्रभित्र नदी तटीय तथा बाढी–पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नगरवासीलाई सतर्क रहन अपिल गरेको छ। नगरपालिकाले सावधानी अपनाउनका लागि आवश्यक सुझावसमेत सार्वजनिक गरेको छ।

नगर प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीद्वारा जारी सूचनामा भनिएको छ, “एक घन्टाभन्दा बढी लगातार वर्षा भएमा उच्च सतर्कता अपनाउन अनुरोध छ। नदी आसपासका बासिन्दाहरूले आफू र आफ्ना पशुचौपायालाई सुरक्षित स्थानमा सार्नु आवश्यक छ।”

यसबाहेक, चट्याङको सम्भावना रहने भएकाले वर्षाका समयमा ठूला रूख तथा बिजुलीको पोलमुनि नबस्न नगरवासीहरूलाई आग्रह गरिएको छ। यदी कुनै प्रकारको बाढी, पहिरो वा अप्रत्याशित विपद्का घटनाहरूमा उद्दार आवश्यक भएमा निम्न सम्पर्क नम्बरहरूमा तत्काल सम्पर्क गर्न भनिएको छ:

  • सशस्त्र प्रहरी बल हटलाइन: १११४

  • नेपाल प्रहरी हटलाइन: १००

  • नेपाली सेना, बर्दिवास कार्यरत अधिकृत: ९८५४०२०७७२

  • नेपाल रेडक्रस सोसाइटी, महोत्तरी उपशाखा बर्दिवास: ९८५४०३१२०२

  • बर्दिवास नगरपालिका नगर प्रहरी: ९८४१७०४४२८, ९८१२१९३३२५

नगरपालिकाले नागरिकहरूलाई कुनै पनि सम्भावित खतरा पूर्व नै सचेत भएर आवश्यक सावधानी अपनाउन आह्वान गरेको छ। साथै, सार्वजनिक सुरक्षाका उपायहरू कडाइका साथ पालना गर्न समेत अनुरोध गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...