वीरगञ्जमा पानी संकट चरममा, चापाकल सुक्दै जाँदा बोरिङ र नयाँ धारा जडानको चाप

अज्ञा खबर
वीरगञ्ज

वीरगञ्जमा वर्षेनि गहिरिंदो खानेपानी संकट यो वर्ष झन् भयावह भएको छ। चापाकल सुक्दै गएपछि स्थानीय बासिन्दा पानीको हाहाकारमा परेका छन्। अधिकांश घरको निजी चापाकलबाट पानी ननिस्कने भएपछि नागरिकको जनजीवन अस्तव्यस्त बनेको छ।

वीरगञ्ज महानगरका विभिन्न वडाहरू—जसमा वडा नं. १, २, ११, १३, १६, २५, २६ प्रमुख रूपमा पर्दछन्—खासगरी चापाकलमा निर्भर समुदायहरू सबैभन्दा बढी प्रभावित छन्। पानीको अभाव झेलिरहेका सर्वसाधारण दैनिक रूपमा नेपाल खानेपानी संस्थान शाखा कार्यालय, वडा कार्यालय तथा महानगरपालिकामा धारा जडान वा वैकल्पिक आपूर्तिको माग लिएर पुगिरहेका छन्।

नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखा कार्यालयका प्रमुख प्रवीणकुमार साहका अनुसार, भू–गर्भीय पानीको सतह निरन्तर घटिरहेको छ, जसको असर चापाकलको क्षमतामा देखिएको छ। “यो वर्ष चापाकल सुकेपछि पानी माग गर्दै धारा जडान गर्न आउनेको संख्या दोब्बर भएको छ,” साहले भने।

निजी चापाकल सुक्दै, सामूहिक प्रयास अपर्याप्त

वीरगञ्ज–१३ श्रीपुरका स्थानीय अब्दुल अहमद विगत तीन वर्षदेखि निरन्तर पानीको संकट भोग्दै आएका छन्। “हामी पानीकै कारण बिहान उठेदेखि बेलुका सुत्दासम्म तनावमा हुन्छौं,” उनले बताए। खानेपानी मन्त्री यही जिल्लाबाट प्रतिनिधित्व गर्दा पनि अवस्था झन् बिग्रिएकोप्रति उनले दुःख व्यक्त गरे।

महानगर–२६ का वडाध्यक्ष शम्भु मिश्रका अनुसार, वडाभित्र करिब ९० प्रतिशत चापाकल सुकेको छ। वडा कार्यालयले यस वर्ष दुई वटा ‘डिप बोरिङ’ मार्फत पानी उपलब्ध गराए पनि त्यो अपर्याप्त भएको मिश्रको भनाइ छ। “वडाको स्रोतसाधन सीमित छन्, माग अनुसार बोरिङ गर्न सकिएको छैन,” उनले स्पष्ट पारे।

७५ भन्दा धेरै ठाउँमा डिप बोरिङ, तर दीर्घकालीन समाधान अपुग

महानगरका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख इञ्जिनियर राकेश साहले चापाकल सुक्नुलाई जमिनमुनिको पानी सतह घट्दै जानु मुख्य कारण बताए। उनका अनुसार चालु आर्थिक वर्षमा प्रदेश सरकारसँग समन्वय गरेर ७५ भन्दा धेरै स्थानमा डिप बोरिङ गरिएको छ। तीमध्ये अधिकांश बोरिङमा ५ देखि ६ लाख रुपैयाँ लागत परेको छ।

तर दीर्घकालीन समाधानका लागि संघीय सरकारको पहल अझै निर्णायक चरणमा पुगेको छैन। साहका अनुसार, संघीय सरकारले एसियाली विकास बैंक (ADB) को साझेदारीमा वीरगञ्जमा दीर्घकालीन खानेपानी आयोजना अघि बढाउने प्रयासमा रहेको छ।

धारा जडानको माग आकासिँदै, वितरण संरचनामा समस्या

संस्थानका अनुसार वीरगञ्जमा दैनिक करिब १ करोड लिटर पानी वितरण गरिए पनि त्यसको ४० प्रतिशत पानी पाइपलाइन चुहावटबाट नोक्सान हुने गरेको छ। पाइपलाइनको पुरानो संरचना र वितरण सञ्जालको अव्यवस्था प्रमुख कारण भएको संस्थानले जनाएको छ।

चालु आवमा मात्रै करिब ६०० जनाले नयाँ धारा जडानको माग गरेका छन् भने ३५० भन्दा बढी नागरिक पानीको लाइन जडानको पर्खाइमा छन्। हाल संस्थानसँग वीरगञ्ज महानगर क्षेत्रमा १२ हजार ग्राहक छन्। नयाँ जडानका लागि संस्थानले वडा कार्यालयको सिफारिसमा ६ हजार ३७० रुपैयाँ दस्तुर लिई सेवाग्राहीलाई धारा जडान गरिरहेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...