अज्ञा खबर
जनकपुरधाम
जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित एक पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ। सोमबार बिहान भैया पोखरीमा नुहाउने क्रममा डुबेका उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकमा स्थानीय ४ वर्षीया आरोहीकुमारी राउत र ३ वर्षीया मैथिलीकुमारी राउत रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहले जानकारी दिए।
सिंहका अनुसार बिहान नुहाउन पोखरी पुगेका दिदीबहिनी गहिरो पानीमा फसेका थिए। स्थानीयका अनुसार घटनापछि तत्काल उद्धार प्रयास गरिए पनि सफल हुन सकिएन। दुवैजनालाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुरधाम लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि पोखरी क्षेत्र शोकमग्न बनेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। मृतक दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ।
