आज्ञा खबर
महोत्तरी
पोषक तत्वले भरिपूर्ण स्थानीय उत्पादन मखानको पहिचान राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्यले मटिहानी नगरपालिकाले मखान खेतीमा संलग्न कृषकलाई बजार अभिमुख सामग्री वितरण गरेको छ।
नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत सोमबार आयोजित एक कार्यक्रममार्फत मखान उत्पादक २१ जना कृषकलाई आवश्यक उपकरण प्रदान गरिएको हो। वितरण सामग्रीमा सयदेखि चार सय थानसम्म बोरा, २०० थान झोला र एक थान त्रिपाल समावेश छन्।
नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार, मखाना खेतीलाई संस्थागत र ब्राण्डयुक्त बनाउने दीर्घकालीन सोचसहित पालिकाले विगत तीन वर्षदेखि सामग्री सहयोगमार्फत कृषकलाई सघाउँदै आएको छ। “स्थानीय उत्पादन मखानको बजार विस्तारका लागि हामी प्रयासरत छौं। नगरमा आउने पाहुनालाई मखान उपहार स्वरूप दिने परम्परा पनि सुरु गरेका छौं,” मण्डलले भने।
मण्डलका अनुसार नगरपालिकाभित्र करिब १०० पोखरी छन्, जसमा ५० भन्दा बढीमा व्यावसायिक रूपमा मखान खेती हुँदै आएको छ। यहाँबाट वार्षिक कम्तिमा ४ सय क्विन्टल मखान नेपालका विभिन्न सहरमा पठाइन्छ।
वडा नं. ६, ७ र ८ मा बसोबास गर्ने मल्लाह (सहनी), साह तथा मुस्लिम समुदायका दुई दर्जनभन्दा बढी परिवार मखान खेतीमा आश्रित छन्। कृषि शाखाका सहसंयोजक टङ्क प्रसाद उपाध्यायका अनुसार मटिहानीमा हाल १२५ बिगा क्षेत्रमा मखान खेती भइरहेको छ, र पालिकाको निरन्तर लगानीले किसानको आकर्षण झनै बढ्दो छ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मखान हिन्दु धर्ममा जन्मदेखि मृत्युसम्मका विधिमा अनिवार्य मानिन्छ। विशेषतः दीपावली र कोजाग्रत पूर्णिमा जस्ता चाडपर्वमा यसको माग उच्च हुने गरेको छ। यद्यपि जलमग्न क्षेत्रमै खेती गर्नुपर्ने भएकाले उत्पादकत्वका हिसाबले किसान अझै चुनौतीमा छन्।
केही महिना अघि मात्रै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मटिहानीका उत्कृष्ट मखान उत्पादक कृषकहरू हरि यादव, संजय सहनी, ललन मुखिया र विष्णु सहनीलाई प्रशंसा पत्रसहित सम्मान गरेका थिए।
हालैको वितरण कार्यक्रममा जिल्ला समन्वय समिति महोत्तरीका सदस्य राम लखन पंजियार, उद्योग वाणिज्य संघ महोत्तरीका पूर्व अध्यक्ष मोहन प्रसाद गुप्ता, मटिहानी वडा नं. ६ का अध्यक्ष कलीम अंसारी र वडा नं. ७ का अध्यक्ष जितनारायण माझी लगायत किसानहरूको उपस्थिति थियो।
मटिहानी नगरपालिकाको यो पहलले मखानलाई केवल खाद्यान्न नभई, एक स्थानीय ब्राण्डका रूपमा स्थापित गर्ने बाटो खोल्ने संकेत दिएको छ।
