सिकारीबासमा दुई कोठे पक्की घर पाउने, अब फुसको छानोमुनी रात बिताउनुपर्ने दिन सकिने

[sharethis-inline-buttons]

अज्ञा खबर

पर्सा

पर्सा जिल्लाको दक्षिण पश्चिम कुनामा पर्ने ठोरी गाउँपालिका–३ को सिकारीबास अब विकासको एउटा नयाँ अध्यायमा प्रवेश गर्दैछ। वर्षौँदेखि फुसको घरमा बस्दै आएका यहाँका पाँच परिवार अब शिघ्रै दुई कोठे पक्की घरमा बस्न पाउने भएका छन्।

पूर्वाधार विकास कार्यालय, वीरगञ्जले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत सिकारीबासमा एकीकृत बस्ती निर्माण प्रक्रिया अघि बढाएको हो। नेपाल–भारत सिमानाको करिब छ किलोमिटरभित्र पर्ने यो बस्ती तीनवटा राष्ट्रिय निकुञ्जहरू—पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भ—को संगमस्थलमा रहेको छ। तर, संरक्षण क्षेत्रको यो बस्ती आजसम्म पनि सडक, आवास, खानेपानीजस्ता आधारभूत सुविधाबाट वञ्चित रहँदै आएको छ।

कार्यक्रम अन्तर्गत पाँच घरपरिवारका लागि दुई–दुई कोठे पक्की घर निर्माण गरिनेछ। चालु आर्थिक वर्षमा यसको शिलान्यास गरिए पनि निर्माण कार्य भने आगामी वर्ष सम्पन्न हुने पूर्वाधार विकास कार्यालय वीरगञ्जका प्रमुख इञ्जिनियर लालबाबु रायले जानकारी दिए।

गत शनिबार सिकारीबासमै आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र इञ्जिनियर रायले संयुक्त रूपमा बस्ती निर्माणको शिलान्यास गरेका थिए।

त्यस अवसरमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन, पर्साका योजना प्रमुख इञ्जिनियर राकेश साहले सिकारीबास छेउ बग्ने खोलामा कटान रोक्न करिब १० लाख रुपैयाँ लागतको तारजालीसहितको तटबन्ध बनाइने जानकारी गराए।

निकुञ्जको छेउमा पर्ने तर राज्यको नजरबाट ओझेलमा परेको सिकारीबास अब आशाको उज्यालो देख्न थालेको छ। फुसको टहरोबाट पक्की घरमा सर्ने बाटो खुलेसँगै यहाँका बासिन्दाले पहिलोपटक ‘दिगो बासस्थान’को अनुभूति गर्न पाउनेछन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...