अज्ञा खबर, महोत्तरी
महोत्तरीको औरही नगरपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। औरही–७ स्थित भोयल टिमकियाको कृषि सडकमा कलभर्ट निर्माणमा खटिएका एक मजदुरको ११ हजार भोल्टको विद्युत् तार चुँडिएर खस्दा घटनास्थलमै मृत्यु भएको हो।
ज्यान गुमाउने व्यक्ति रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ३२ वर्षीय छटु मुखिया रहेको प्रहरी स्रोतले पुष्टि गरेको छ।
स्थानीय बासिन्दा रोशन यादवका अनुसार, बिहान काम गरिरहेको बेला अचानक माथिबाट विद्युत् प्रवाह भएको हाई–भोल्टेज तार खस्दा छटु मुखियालाई सोझै लागेर घटनास्थलमै मृत्यु भयो।
घटनापछि इलाका प्रहरी कार्यालय औरहीको टोली घटनास्थलमा पुगेको र अनुसन्धान भइरहेको जनाएको छ।
स्थानीय बासिन्दाले नेपाल विद्युत् प्राधिकरणको लापरबाहीलाई जिम्मेवार ठहर गरेका छन्। उनीहरूका अनुसार पटक–पटक तार झुण्डिएको र मर्मत नहुँदा जोखिम बढेको भए पनि सम्बन्धित निकायले गम्भीरता नदेखाएको आरोप लागेको छ।
“केही वर्ष अघि पनि यस्तै घटनामा औरहीमै एक जनाको ज्यान गएको थियो,” एक स्थानीयले बताए, “तर त्यसयता कहिल्यै सुरक्षा सतर्कता अपनाइएन।”
विद्युत् संरचना सुधार र निगरानीमा बेवास्ता हुँदा जनधनको क्षति भइरहेको भन्दै स्थानीयवासीले तत्काल सुरक्षा प्रविधि र मर्मतमा ध्यान दिनुपर्ने माग गरेका छन्।





































