स्थानिय तहको १० वर्षे शिक्षा योजनाको अन्तिम मस्यौदामाथि बर्दिवासमा सघन छलफल

[sharethis-inline-buttons]

अज्ञा खबर
बर्दिवास, महोत्तरी 

बर्दिवास नगरपालिकाको शिक्षा क्षेत्रलाई दीर्घकालीन, समावेशी र गुणस्तरीय बनाउने लक्ष्यसहित तयार गरिएको ‘१० वर्षे शिक्षा योजना’ को अन्तिम मस्यौदामाथि सघन छलफल कार्यक्रम आइतबार सम्पन्न भएको छ।

बर्दिवास नगरपालिका, युवा, खेलकुद तथा शिक्षा शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, विषय विज्ञ, सरोकारवाला संस्था, शिक्षा शाखाका पदाधिकारीलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा शिक्षा योजनाको निर्माणका आधार, औचित्य र कानुनी पाटोबारे विस्तृत प्रस्तुति दिइएको थियो। उपसचिव रेवती प्रसाद पराजुलीका अनुसार यस योजनाको तयारीमा एसडीजी लक्ष्य नं. ४, नेपालको संविधानको मौलिक हक धारा ३१, ३८, ३९ र ४०, शिक्षा नीतिको १६ वर्षे दीर्घकालीन योजना, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, नियमावली २०७७, स्थानिय सरकार सञ्चालन ऐन लगायतका नीति तथा कानुनी दस्तावेजहरूको गहन अध्ययन र विश्लेषण गरिएको छ।

योजना मस्यौदाका प्रमुख बुँदाहरू:

१. प्रारम्भिक खण्ड:
नगरपालिकाको भौगोलिक, सामाजिक, सांस्कृतिक, जनसंख्या, आर्थिक पक्ष र शैक्षिक अवस्थाको समग्र विश्लेषण प्रस्तुत गरिएको छ। यस खण्डमा अवसर, चुनौती र समस्या पहिचान गरी शिक्षा सुधारको आधार तयार पारिएको हो।

२. दृष्टिकोण र लक्ष्य:
शिक्षामा दीर्घकालीन दृष्टिकोण, लक्ष्य, उद्देश्य, रणनीति र प्रमुख कार्यसम्पादन सूचकहरूबारे छलफल गरिएको छ। बर्दिवासको वर्तमान शैक्षिक अवस्थाबाट कहाँ पुग्ने भन्ने स्पष्ट खाका प्रस्तुत गरिएको छ।

३. विद्यालय शिक्षाका उपक्षेत्रहरू:
प्रारम्भिक बाल विकास शिक्षा, आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, तालिम, अनौपचारिक शिक्षा र जीवनपर्यन्त सिकाइजस्ता विषयमा विस्तृत छलफल गरिएको छ। यसमा प्रत्येक उपक्षेत्रका वर्तमान अवस्था, समस्या, उद्देश्य, रणनीति, अपेक्षित उपलब्धि, क्रियाकलाप र पाँच/दश वर्षमा हासिल गर्नुपर्ने लक्ष्यहरू समेटिएका छन्।

४. अन्तरविषयवस्तु:
पाठ्यक्रम, शिक्षण सिकाइ सामग्री, मूल्याङ्कन, शिक्षक व्यवस्थापन, सूचना प्रविधि, विद्यालय भौतिक पूर्वाधार, स्वास्थ्य तथा पोषण, विपद् जोखिम व्यवस्थापन, समावेशीकरण जस्ता विषयमा समेत गहन विश्लेषण गरिएको छ।

५. सुशासन र व्यवस्थापन:
विद्यालय सञ्चालक समिति, संरचना, जनशक्ति, स्रोत व्यवस्थापन र व्यवस्थापनको पारदर्शिता, सहभागिता र जवाफदेहिता समेटिएको छ।

६. लगानी र स्रोत व्यवस्थापन:
संघ, प्रदेश र स्थानीय तहका बजेट तथा गैरसरकारी संस्थाहरूको सहयोग, आगामी वर्षहरूमा आवश्यक पर्ने स्रोत र लगानीको प्रक्षेपण प्रस्तुत गरिएको छ।

७. अनुगमन र मूल्याङ्कन खाका:
योजना कार्यान्वयनपछिको मूल्याङ्कन कसरी गर्ने, कुन सूचकमा कस्तो अनुगमन गर्ने भन्ने स्पष्ट खाका प्रस्तुत गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले शिक्षालाई व्यवहारिक, गुणस्तरीय र प्रतिस्पर्धात्मक बनाउनेतर्फ नगरको प्राथमिकता रहेको बताए। उनले पछिल्ला तीन वर्षमा शिक्षा क्षेत्रमा केही सुधार देखिए पनि अझै पनि केही विद्यालयको अवस्था दयनीय रहेकोप्रति चिन्ता व्यक्त गरे।

उनले भने, “बर्दिवासले यो वर्षको एसईई परीक्षामा महोत्तरी जिल्लामै उत्कृष्ट नतिजा ल्याएको छ। यसले बर्दिवासको शिक्षा गुणस्तर राष्ट्रिय मापदण्डसँग मेल खान थालेको संकेत गर्छ।” उनले अभिभावकको सक्रियता, शिक्षकको प्रतिबद्धता र कक्षाकोठाभित्रको सिकाइ सुधार गर्न नगरपालिकाले आवश्यक कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले शिक्षा योजना मस्यौदालाई यथार्थपरक र क्रियाशील बनाइएको भन्दै यसको प्रभावकारी कार्यान्वयनको लागि सबै पक्षले साथ दिनुपर्नेमा जोड दिए।

कार्यक्रम समापनअघि योजना मस्यौदाको केही खण्डमा सहभागीहरूको सुझाव अनुसार संशोधन गर्ने र अन्तिम प्रतिवेदन तयार गरी स्वीकृति प्रक्रियामा लैजाने निर्णय गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...