बर्दिवासको खानेपानी संस्थाको कोषाध्यक्षसँगको विवाद सतहमा

[sharethis-inline-buttons]

अज्ञा खबर
बर्दिवास, महोत्तरी।

बर्दिवास साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आन्तरिक विवाद अब सतहमा आएको छ। संस्थाभित्रको नेतृत्व विवाद, कार्यशैलीमा असहमति र व्यक्तिगत टकरावले संस्थाको समग्र गरिमामाथि ठेस पुग्न थालेको छ।

पछिल्लो तनाव तब चुलियो, जब ५० हजार रुपैयाँभन्दा बढी महसुल बक्यौता रहेको भन्दै संस्थाका कर्मचारी तथा सदस्यहरू कोषाध्यक्ष भोजप्रसाद फुयाँलको घरमा धारा काट्न पुगे। घटनाको क्रममा फुयाँलले कर्मचारी तथा सदस्यहरूमाथि एक्कासी गाली गलौज गर्दै हातपात गरेका थिए।
यसैक्रममा शनिबार आयोजना गरिएको पत्रकार भेटघाटमा संस्थाका अध्यक्ष भुलन सेनले कोषाध्यक्षको व्यवहारलाई ’अराजकता’ को संज्ञा दिँदै कानुनी बाटो रोज्ने घोषणा गरे। उनका अनुसार, महसुल नतिर्ने उपभोक्ताविरुद्ध संस्थाले कारबाही थालिसकेको छ, र सोही क्रममा कोषाध्यक्ष स्वयं पनि परेका हुन्।

आन्तरिक विरोध र विधान संशोधनको लफडा

संस्थाको मूल विवाद भने आर्थिक कारोबारको हस्ताक्षर प्रक्रिया र त्यसमा भएको परिवर्तनसँग गाँसिएको कोषाध्यक्ष फुयालको आरोप  छ। फुयालका अनुसार २०६४ सालको विधानअनुसार, आर्थिक कारोबार गर्न अध्यक्ष र कोषाध्यक्ष दुबैको हस्ताक्षर अनिवार्य थियो। तर कोषाध्यक्षले तलब निकासामा हस्ताक्षर गर्न नमानेपछि कार्यालयका कर्मचारीहरू तीन महिना तलबबिहीन बन्न पुगे। यसले गम्भीर असन्तोष जन्मायो।

अध्यक्ष सेनका अनुसार, संस्थाले उपभोक्ता भेला बोलाएर विधान संशोधन गरेको हो—अब आर्थिक कारोबार अध्यक्षसहित अन्य दुईमध्ये कुनै एकको हस्ताक्षरमा चल्ने व्यवस्था मिलाइएको छ। फुयाँलले यसलाई आफ्नो अधिकारको हनन ठानी कानुनी लडाइँ थालेका थिए। जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका फुयाँलले पछि उच्च अदालत जनकपुरमा रिट दायर गरे पनि अदालतले प्रारम्भिक सुनुवाइमै रिट खारेज गरेको छ।

सामाजिक सञ्जाल र प्रतिशोधको राजनीति

कोषाध्यक्ष फुयाँलले महसुल तिर्नुपर्ने उपभोक्तामध्ये आफू पनि एक भएको स्वीकार गर्दै सार्वजनिक रूपमा ’धारा काट्न आऊ’ भन्दै चुनौती दिएका थिए। तर जब संस्थाका कर्मचारी धारा काट्न पुगे, उनी आक्रोशित बने। ‘धारा काट्न आउँदा किन सुरक्षा बिना गइयो?’ भन्ने प्रश्नमा व्यवस्थापक भवनाथ खतिवडाले प्रहरी साथमै रहेको र घटनापछि तुरुन्त निवेदन दिएको जानकारी दिए।

संस्थाले शनिबारसम्ममा ९० जना उपभोक्ताको धारा काटिसकेको छ। फुयाँलले पनि शुक्रबार बक्यौता चुक्ता गरेपछि उनको धारा पुनः जडान गरिएको अध्यक्ष सेनले बताए।

बेरुजु र पारदर्शिताको प्रश्न

संस्थाको हालैको लेखापरीक्षणले अध्यक्ष र कोषाध्यक्षको नाममा डेढ लाख रुपैयाँभन्दा बढी बेरुजु देखाएको छ। ५०० बोरा सिमेन्ट खरिद गरिएको बिल भए पनि ती सामग्री कहाँ प्रयोग भए भन्ने स्पष्ट नभएकाले लेखा परीक्षकले रकम बेरुजुमा राखेका हुन्। अहिले संस्थाले आगामी साधारणसभा भदौ महिनामा बोलाउने तयारीमा छ।

अध्यक्ष सेनको भनाइमा, “अब हुने साधारणसभामा सबै उपभोक्ताले यथार्थ बुझ्नेछन्—कसले काम ग¥यो, कसले अड्चन ग¥यो। हामी कुनैपनि हालतमा संस्थालाई पारदर्शी र सक्षम बनाउने छौं।”

बर्दिवासको खानेपानी संस्था नेतृत्व तहकै असमझदारी र आन्तरिक खिचातानीका कारण अहिले संकटपूर्ण मोडमा पुगेको छ। उपभोक्ताका समस्या समाधान गर्ने उद्देश्यले स्थापित संस्था अहिले स्वार्थ, प्रतिशोध र अविश्वासको दलदलमा अल्झिएको देखिन्छ। विवाद समाधानको सही मार्ग अब कानुनी तथा संस्थागत संयमताबाट मात्र सम्भव देखिन्छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...