अज्ञा खबर
बर्दिवास, महोत्तरी
बर्दिवास नगरपालिका–६ हनुमान चोकमा शुद्ध खानेपानी तथा सिचाईको स्थायी समाधानगर्ने लक्ष्यसहित शनिवार नयाँ डिप बोरिङ योजनाको शिलान्यास गरिएको छ। ६ इञ्च मोटाईको पाईपमार्फत करीब २ सय फिट गहिराइमा बोरिङ गर्ने योजनाको शिलान्यास नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले गरेका हुन्।
शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख क्षेत्रीले स्थानीय बासिन्दाहरूलाई दीर्घकालीन रूपमा स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने तथा कृषि फसलको उत्पादनमा बृद्धि गराउने उद्देश्यले डिप बोरिङ आयोजना अघि बढाइएको बताए। “विकास निर्माणमा जनचासोका विषयलाई प्राथमिकतामा राख्दै नगरपालिकाले खानेपानी र सिचाईको सहज आपूर्तिका लागि विभिन्न विकल्पहरूमा कार्य गरिरहेको छ,” उनले भने।
बर्दिवास–६ हनुमान चोक आसपासका बासिन्दाहरू विगत लामो समयदेखि खानेपानी तथा सिचाईको असहज परिस्थिति सामना गर्दै आएका थिए। अहिले सुरु गरिएको डिप बोरिङ कार्यले ती समस्याहरू समाधान गर्ने स्थानीयको विश्वास छ।
कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष, जनप्रतिनिधि, प्राविधिक टोली तथा स्थानीय बासिन्दाहरूको उपस्थिति थियो। शिलान्यासपछि निर्माण कार्यलाई छिटो सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीलाई निर्देशन दिइएको बर्दिवास नगरपालिकाले जनाएको छ।





































