बर्दिवास–३ रजाबासका महिलालाई सालको पातबाट दुनाटपरी बनाउने तालिम सम्पन्न आत्मनिर्भर महिलाको निर्माणतर्फ बर्दिवास नगरपालिकाको पहल

[sharethis-inline-buttons]

अज्ञा खबर
बर्दिवास, महोत्तरी ।

बर्दिवास नगरपालिका–३ रजाबासमा सञ्चालित ‘महिलासँग उपप्रमुख सिप विकास कार्यक्रम’ अन्तर्गत महिलाहरूलाई लक्षित गर्दै सालको पातबाट दुनाटपरी बनाउने तालिम सम्पन्न भएको छ। बर्दिवास नगरपालिकाको आयोजनामा सम्पन्न सो तालिमले महिलालाई आर्थिक सशक्तिकरण र आत्मनिर्भरताको दिशातर्फ अघि बढाउने अपेक्षा गरिएको छ।

तालिम समापन समारोहलाई सम्बोधन गर्दै बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले नगरभित्रै महिलाहरूको सिप विकासमार्फत आर्थिक सुधार ल्याउने उद्देश्यले यस्तो तालिम सञ्चालन गरिएको जानकारी दिए। उनले भने, “दुनाटपरीको माग अहिले बर्दिवास नगरभित्र मात्र होइन, नगर बाहिरका जिल्लाहरूमा पनि अत्यधिक छ। हामी बजार व्यवस्थापन गर्दै निर्याततर्फ पनि लाग्नेछौं।”

नगर प्रमुख क्षेत्रीका अनुसार बर्दिवास नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउने योजनाअन्तर्गत सिलाईकटाई, ब्यूटीपार्लर, लोदी बनाउने, पशुपालन, तथा अन्य उत्पादनमुखी तालिमहरू सञ्चालन गर्दै आएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले महिलाहरूलाई चुलोचौकामा मात्र सीमित नराखी, आफैँले सिकेका सीपहरू उपयोग गरेर आयआर्जन गर्न प्रेरित गरे। उनले भने, “महिलाहरूले अब घर खर्चका लागि परिवारका सदस्यसँग मागिरहनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्छ। आफूलाई सक्षम बनाउँदै परिवार र समाजमा आर्थिकरुपमा सबल बन्न आवश्यक छ।”

तालिममा रजाबासका २५ जना महिलाहरू सहभागी थिए। तालिम प्रशिक्षकले सालको पात संकलनदेखि पात सुकाउने, डिजाइन गर्ने, सिलाउने र बजारमा बिक्री गर्ने प्रक्रियासम्मको अभ्यास गराएका थिए। सहभागी महिलाहरूले तालिम उपयोगी भएको बताउँदै, यसले आफूहरूलाई आम्दानीको बाटो देखाएको प्रतिक्रिया दिएका छन्।

स्थानीय महिला सहभागी मनकला चौधरी भन्छिन्, “हामी जस्ता गृहिणीहरूलाई नगरपालिकाले सिक्ने अवसर दिएकोमा खुसी लागेको छ। अब यो सीप घरमै बसेर उपयोग गर्नेछौं र आम्दानी गर्नेछौं।”

बर्दिवास नगरपालिकाले आगामी दिनमा अन्य बस्तीहरूमा पनि यस्ता तालिम विस्तार गर्ने योजना रहेको जनाएको छ। सीप विकास कार्यक्रममार्फत महिलालाई आत्मनिर्भर बनाउने यो अभियानले स्थानीय तहमा रोजगारी सिर्जना र महिला सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...