आज्ञा खबर
बर्दिवास
एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१ मा नयाँ शाखा स्थापना गरेको छ। यो शाखा बैंकको १३३औँ शाखा हो भने मधेश प्रदेशभित्र सञ्चालनमा आएको १५औँ शाखा हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) सुदेश खालिङ र बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा नयाँ शाखाको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष भोला खड्का, बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का, बैंकका मधेश प्रदेश प्रमुख पुष्पराज उप्रेती, बैंकका अन्य कर्मचारी, स्थानीय व्यापारी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै मेयर क्षेत्रीले बर्दिबास जस्तो तीव्र गतिमा शहरीकरण भइरहेको नगरमा आधुनिक बैंकिङ सेवा थप विस्तार हुनु सकारात्मक कदम भएको बताए। उनले बैंकमार्फत नगरवासीले सजिलो, सुरक्षित र प्रविधिमैत्री सेवा प्राप्त गर्ने अपेक्षा व्यक्त गरे।
एभरेष्ट बैंकका CEO खालिङले बर्दिबास शाखामार्फत ग्राहकले डिजिटल बैंकिङदेखि किसान तथा साना व्यवसायीका लागि कर्जा सेवा, बचत तथा निक्षेप योजना, भुक्तानी सेवा लगायतका विविध वित्तीय सुविधा सहज रूपमा प्राप्त गर्न सक्ने जानकारी दिए।
नयाँ शाखाको स्थापनाले बर्दिबास नगर तथा वरपरका क्षेत्रका नागरिकलाई घरनजिकै बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य बैंकले राखेको छ। शाखा स्थापना कार्यक्रममा ग्राहकमैत्री सेवाका लागि बैंक प्रतिबद्ध रहेको जनाइएको थियो।
बैंकका प्रदेश प्रमुख उप्रेतीले स्थानीय तहसँग समन्वय गर्दै ग्रामीण तथा शहरी क्षेत्र दुवैतर्फ वित्तीय पहुँच विस्तार गर्न एभरेष्ट बैंक निरन्तर क्रियाशील रहेको बताए।
एभरेष्ट बैंक २५ वर्षभन्दा बढीको अनुभवसहित नेपालको एक अग्रणी निजी क्षेत्रको वाणिज्य बैंक हो। देशभरि छरिएको शाखा सञ्जाल, एटीएम सेवा, इन्टरनेट र मोबाइल बैंकिङ जस्ता सेवा मार्फत बैंकले लाखौं ग्राहकलाई सेवा दिइरहेको छ। अब बर्दिबासका बासिन्दाले पनि यिनै सुविधा आफ्नो नगरमै सहज रूपमा उपयोग गर्न सक्ने भएका छन्।
