आज्ञा खबर
बर्दिवास
बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले लामो समयदेखि रु १५ हजार भन्दा बढी महसुल तिर्न बाँकी रहेका उपभोक्तामाथि कडा कदम चाल्दै बक्यौता तिर्न आनाकानी गर्नेको पानीको धारा काट्ने अभियान सुरु गरेको छ।
संस्थाले बुधवार (आज) देखिको अभियान अन्तर्गत पहिलो चरणमा न्युनतम एक लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको, तिर्न आलटाल गर्ने तथा राजनीतिक वा सामाजिक पहुँच देखाउँदै महसुल नतिर्ने ९ उपभोक्ताको घरको खानेपानी धारा काटिएको जनाएको छ।
संस्थाका व्यवस्थापक भवनाथ खतिवडाका अनुसार, “यो अभियान बक्यौता रकम नतिरेसम्म निरन्तर चल्नेछ। १५ हजार रुपैयाँभन्दा माथिको बक्यौता रकम तिर्न बाँकी सबै उपभोक्तालाई महसुल तुरुन्त भुक्तानी गर्न अनुरोध गरिएको छ।“
उनले बताएअनुसार, संस्थाको निर्णयको अवज्ञा गर्ने, धम्की दिने, राजनैतिक दबाब सिर्जना गर्ने वा सामाजिक पहुँचको आडमा पानीको धारा जोगाउने प्रवृत्तिलाई अन्त्य गर्न यो कदम चालिएको हो। यस अभियानले पारदर्शिता कायम गर्दै सबैलाई समान व्यवहार गर्ने उद्देश्य लिएको खतिवडाको भनाइ छ।
संस्थाले महसुल नतिर्ने ग्राहकलाई पटक–पटक जानकारी गराउँदा पनि आलटाल गर्ने प्रवृत्ति देखिएकाले अब बिना पूर्वसूचना पनि धारा काट्ने चेतावनी दिएको छ। संस्थाका पदाधिकारी, सदस्य, कर्मचारी वा कुनै पनि व्यक्ति संस्थासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपले संलग्न भए तापनि उनीहरूको नाममा बक्यौता देखिएमा त्यस्तो धारा पनि काटिनेछ।
संस्थाका अनुसार, अहिले १५ हजारदेखि ५० हजारसम्मको बक्यौता तिर्न बाँकी रहेका उपभोक्ताहरू पनि निगरानीमा छन्। यदि ती उपभोक्ताले पनि चाँडै महसुल तिरेनन् भने क्रमशः उनीहरूका धारासमेत काटिनेछन्।
संस्थाले सबै उपभोक्तालाई सचेत गराउँदै नियमित महसुल तिर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको हो।
