नगरपालिकाको पञ्चेबाजा तालिम ः लोपोन्मुख संस्कृतिको जगेर्ना र युवा स्वरोजगारको अभियान

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
पञ्चेबाजाको धुन फेरि एकपटक बर्दिवासमा गुञ्जन थालेको छ। लोपोन्मुख अवस्थामा पुगेको परम्परागत लोक बाजाको संरक्षण मात्र होइन, यसको माध्यमबाट युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यसहित बर्दिवास नगरपालिकाले सञ्चालन गरेको १५ दिने समावेशी सहभागितामूलक तालिम बुधवार सम्पन्न भएको छ।

नगर प्रमुखसँग युवा स्वरोजगार कार्यक्रम अन्तर्गत संचालन गरिएको तालिम बर्दिवास–३ का १५ जना युवायुवतीको सहभागितामा सम्पन्न भयो। तालिमको समापन समारोहमा नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले प्रशिक्षणलाई ‘सिप, श्रम र स्वरोजगारलाई जोड्ने प्रयास’को रूपमा प्रस्तुत गरे।
तालिम समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख क्षेत्रीले भने, “पञ्चेबाजा परम्परागत संस्कृतिको महत्वपूर्ण अंग हो। केहिबर्ष अघि विवाह, ब्रतबन्ध, जिवनका उत्सवहरू यसैको धुनमा समर्पित हुन्थे। आज त्यो परम्परा विलुप्त हुने अवस्थामा छ। अंग्रेजी बाजा र ध्वनिविस्तारक यन्त्रले हाम्रो मौलिकता हराउँदै छ। यसै कारण हामीले यसको संरक्षणलाई दायित्वका रूपमा बुझेका छौँ।”

नगरप्रमुखका अनुसार, पञ्चेबाजा तालिमले युवामा नयाँ आशा र सम्भावनाको ढोका खोलेको छ। नगरपालिकाकै बजेटबाट प्रशिक्षार्थीहरूलाई एकसेट पञ्चेबाजा समेत प्रदान गरिएको छ। तालिम पछिको पहिलो चरणमा नै युवाहरूले सांस्कृतिक प्रस्तुति गर्न सक्ने अवस्थामा पुगेका छन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले तालिमलाई फरक धारको स्वरोजगार अभियानको रूपमा व्याख्या गरे। उनले भने, “यो तालिमले बर्दिवासका दाजुभाइ दिदीबहिनीलाई स्वरोजगारतर्फ उन्मुख गराउने हाम्रो लक्ष्यलाई व्यवहारमा उतारेको छ।”

उनका अनुसार, कलासंस्कृतिसँग जोडिएको यस तालिमले पर्यटन प्रवद्र्धनमा समेत योगदान दिने विश्वास गरिएको छ। तालिमले सिन्धुलीको कलाघर र बर्दिवासको सांस्कृतिक सम्बन्धलाई समेत बलियो बनाएको उनले उल्लेख गरे। अधिकारीले प्रशिक्षार्थीलाई ‘नगरकै साँस्कृतिक सम्पत्ति’को रूपमा व्याख्या गरे। उनले भने, “साँस्कृतिक मूल्यमान्यता टिकाउने काम अब तपाईँहरूको काँधमा छ। नगरपालिका बाटो देखाउन सक्छ, हिँड्ने काम तपाईँहरूकै हो।”

तालिममा राष्ट्रिय कलाघर सङ्ग्रहालय सिन्धुली कलाघरकी उपाध्यक्ष पवित्रा रम्तेल र सदस्य रीता विश्वकर्माले प्रशिक्षण प्रदान गरेका थिए। उनीहरूको अनुभव र अभ्यासबाट प्रशिक्षार्थीहरूले पञ्चेबाजाको प्रत्येक बाजाको
व्यवहारिक ज्ञान तथा तालमेल सिकेका छन्।

तालिममा सहभागी १५ जना युवायुवतीमध्ये अधिकांशले पहिले बाजा चलाउने अनुभव नभएको भए पनि अब उनीहरू सामूहिक प्रस्तुति दिन सक्ने भएका छन्।

बर्दिवासमा पहिलोपटक यस किसिमको प्राविधिक–सांस्कृतिक तालिम सञ्चालन भएको हो, जसले साँचिकै स्वरोजगारसँग कला, संस्कृति र परम्परालाई जोड्ने प्रयास गरेको छ। यो तालिमको सफलताले भविष्यमा थप युवालाई आकर्षित गर्न सक्ने सम्भावना देखिएको छ।
पञ्चेबाजा केवल बाजा मात्रै होइन, यो हाम्रो सभ्यताको परिचायक हो। नगरपालिकाको यो पहलले पञ्चेबाजालाई आधुनिकताको छायाँबाट पुनः उज्यालोतर्फ ल्याउने प्रयास गरेको छ। नगर प्रमुख क्षेत्रीको अगुवाइमा गरिएको यो कार्यक्रम युवालाई स्वरोजगारको बाटो देखाउनुका साथै स्थानीय संस्कृति र परम्पराको संरक्षण गर्ने संवेदनशील कदम पनि हो।

अब यो तालिमको प्रभाव कति टिकाउ हुन्छ, प्रशिक्षार्थीहरूले यसलाई जीवनशैलीको अंग बनाउँछन् कि सामाजिक सेवामा रूपान्तरण गर्छन्—भविष्यले बताउनेछ। तर यथार्थ के हो भने, बर्दिवासको गल्ली–टोलमा अब फेरि बज्नेछ पञ्चेबाजाको गुञ्जन, पहिचान र संस्कृतिको लयमा।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...