आज्ञा खबर
धनुषा
मधेश प्रदेशको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल जारी रहँदैगर्दा सत्ता गठबन्धनमै देखा परेको असहमतिको कारण प्रदेशसभा अनिश्चितकालका लागि स्थगित भएको छ। प्रदेशसभा बैठक १२ असारका लागि तय गरिएको भए पनि सुरु हुन एक घण्टा बाँकी रहँदा सूचना टाँस गरी आकस्मिक रूपमा स्थगित गरिएको थियो। बैठक कहिले सुचारु हुन्छ भन्नेबारे अहिलेसम्म स्पष्टता छैन।
गठबन्धनमा आबद्ध जनमत पार्टीका अध्यक्ष सीके राउतले बजेट निर्माणमा नेकपा एमाले, नेपाली कांग्रेस र बिचौलियाहरूको प्रभाव रहेको आरोप सार्वजनिक रूपमा लगाउँदै असन्तुष्टि प्रकट गरेपछि विवाद चुलिएको हो। ११ असारदेखि सुरु भएको बजेट छलफल नै सरकारको आग्रहमा सभामुख रामचन्द्र मण्डलले स्थगित गरेका थिए।
जनमतको असन्तुष्टि र छलफल
१२ असारमा बसेको जनमत पार्टीको संसदीय दल बैठकले बजेटमा आफ्ना सिफारिसहरू समावेश नगरिएको र समावेश गरिए पनि न्यून बजेट विनियोजन गरिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेको थियो। बैठकले पार्टीलाई औपचारिक रूपमा जानकारी दिने, बजेट संशोधनको माग गर्ने र प्रदेशसभा स्थगित गराएकोबारे सभामुखलाई पत्र लेख्ने निर्णयसमेत गरेको थियो।
त्यसको भोलिपल्ट अध्यक्ष राउतले मुख्यमन्त्री सतीशकुमार सिंहलाई काठमाडौं बोलाएका थिए। मुख्यमन्त्री सिंह काठमाडौंबाट फर्किएको दुई दिन बितिसक्दा पनि बजेट पास गर्न सरकार गम्भीर नदेखिएको गठबन्धन दलका सांसदहरूको गुनासो छ।
सभामुख मण्डल भन्छन्, “बजेट पास गराउनु सरकारको जिम्मेवारी हो। सरकारकै आग्रहमा बैठक स्थगित गरिएको हो, अब मुख्यमन्त्रीजीले गठबन्धन दलहरूसँग छलफल गरी बैठक चाँडै चलाउने बताएका छन्।”
बिचौलिया प्रभाव र आरोपको घेरामा अर्थमन्त्री
जनमतले विशेषतः कांग्रेसका अर्थमन्त्री सुनिलकुमार यादवमाथि बिचौलियाहरूको चलखेलमा बजेट बनाएको आरोप लगाएको छ। तर, मन्त्री यादवले त्यसलाई खारेज गर्दै यस वर्ष सबै मन्त्रालयले योजना एलएमबीआईएस प्रणालीमार्फत स्वतः इन्ट्री गरेको हुँदा अर्थ मन्त्रालयको हस्तक्षेप नै नभएको दाबी गरे।
“विगतमा सबै योजना अर्थ मन्त्रालयबाट इन्ट्री हुन्थ्यो, यसपटक मन्त्रालय आफैंले योजना इन्ट्री गरेका हुन्। त्यसैले चलखेलको आरोप भ्रामक र आधारहीन हो,” यादवले स्पष्ट पारे।
पौष्टिक आहार बजेटबारे विवाद
पौष्टिक आहार वितरण कार्यक्रम अन्तर्गत बाँकी रहेको ९ करोड ६० लाख रूपैयाँ भुक्तानीबारे पनि अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच मतभेद देखिएको छ। अर्थ मन्त्रालयका सचिव रामकुमार महतोका अनुसार उक्त रकम माग गरिएको थिएन भने स्वास्थ्य मन्त्रालयले माग गरिएको तर त्यो रकमभन्दा कम थियो भन्ने दाबी गरेको छ।
गठबन्धनमा आरोप–प्रत्यारोप
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवले जनमत पार्टीका आरोपहरू निन्दनीय र तथ्यहीन भएको दाबी गरे। “बजेट मुख्यमन्त्रीकै सहमति र सक्रियतामा आएको हो। कसैले कमिसन लिएर योजना राखेको हो भने छानबिन होस्, तर नक्कली आरोप लगाउनु गलत हो,” उनले भने।
एमालेका एक सांसदले पनि जनमत पार्टीले अघिल्लो वर्ष झैं अनावश्यक विवाद सिर्जना गरिरहेको आरोप लगाए। “डा. राउतले कार्यकर्ता र नेताहरूको सहानुभूति बटुल्न आफैं असन्तुष्ट देखिने शैली अपनाउनु भएको छ,” उनले तर्क गरे।
उनले थपे, “डा. राउतका दाइ जयकान्त राउतले स्वयं मुख्यमन्त्री निवासमै बसेर बजेटको योजना ठूलो पर्दामा हेर्नुभएको थियो। त्यसपछि जनमतलाई बाइपास गरियो भन्ने आरोप नै असत्य हो।”
कांग्रेसका अर्का सांसदले जनमत पार्टीले नेतृत्व हस्तान्तरणको बहानामा नाटक मञ्चन गरिरहेको आरोपसमेत लगाए।
विपक्षीको चेतावनी
यता, विपक्षी दल जसपा नेपालसहितले बिना जानकारी बैठक स्थगित गरिएको भन्दै आगामी बैठकमा सहभागी नहुने चेतावनी दिएको छ। बजेट जस्तो महत्वपूर्ण विषयमा सरकारको गैरजिम्मेवारीपूर्ण रवैयाले लोकतान्त्रिक अभ्यासमाथि नै प्रश्न उठाएको उनीहरूको आरोप छ।





































